KATHMANDU DAINIK

विद्याबारे ओलीको कटाक्ष : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन

साउन २६, २०८२।

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको स्पष्ट गरेका छन्। सोमबार च्यासलस्थित एमाले मुख्यालयमा आयोजित मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टीका नाममा बनेका प्रतिष्ठानहरू व्यक्तिगत स्वार्थमा प्रयोग हुने गरेको टिप्पणी गरे।

उनले पुष्पलाल, मनमोहनलगायत नेताका नाममा स्थापना भएका प्रतिष्ठानहरू सुरुमा सामूहिक उद्देश्यका लागि भए पनि पछि व्यक्तिले कब्जा गर्ने प्रवृत्ति बढेको बताए। त्यो परिवर्तनको पक्षमा लाग्ने माध्यम हो कि व्यक्तिको ठगी खाने भाँडो ? ओलीले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको आधिकारिक पहलमा नभई छुट्टै रूपमा बनेको उल्लेख गर्दै यसको भविष्यबारे अझै स्पष्ट दृष्टिकोण आवश्यक भएको बताए। उनले चक्रपथ अनलाइनको प्रस्तुति हेर्दा अन्योल देखिएको भन्दै यो कम्युनिस्ट पाठशाला हो कि व्यक्तिगत वा पारिवारिक सम्पत्ति ? भनेर पूर्व राष्ट्रपति विद्या भण्डारीलाई कटाक्ष गरे।

फाउन्डेसनको संरक्षक पूर्व राष्ट्रपति विद्या भण्डारी छन् भने अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी हुन्। ओलीले नेताको नाममा बनेका संस्था आन्दोलनको उद्देश्य विपरीत प्रयोग हुनु उचित नभएको भन्दै यस्ता संस्थाहरू सामूहिक स्वामित्वमा रहनुपर्नेमा जोड दिए।

Exit mobile version