मंसिर १८, २०८२। काठमाडौ दैनिक संवाददाता
काठमाडौं – नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै बोर्डले ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाई सार्वजनिक निष्कासन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो।
मिति २०८१ असार १२ मा अदालतले दिएको स्वीकृतिअनुसार कम्पनीको सेयर निष्कासनका लागि कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख बोर्डको पत्रमा छ।
पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको सेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ।
कम्पनीले एक वर्षअघि नै सर्वसाधारणका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ ल्याउने तयारी थालेको थियो। यसअघि संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँमा सेयर भर्ना गरिसकेका छन्।
अब कम्पनीले पहिले नै निर्धारण गरिएका मूल्य र प्रक्रियाअनुसार आईपीओ सर्वसाधारणलाई ल्याउने भएको छ।
