
साउन २९, २०८२।
काठमाडौं – एभरेष्ट महिला भलिबल लिगका लागि काठमाडौं स्पाइकर्सले काजकिस्तानकी भलिबल खेलाडी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ। दोस्रो विदेशी खेलाडीका रूपमा अलेनालाई अनुबन्ध गर्दै टोलीले लिगका लागि तयारी तीव्र बनाएको हो।
२९ वर्षीया अलेना अपोजिट हिटर हुन् र उनले काजकिस्तानको भीसी कौन्यास तथा अस्ताना क्लबबाट खेलिसकेकी छन्। उनले एभीसी महिला च्याम्पियन्स लिगमा पनि सहभागिता जनाइसकेकी छिन्।
यसअघि टोलीले बुल्गेरियाकी सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ। दुई विदेशी खेलाडीको आगमनसँगै स्पाइकर्स अझ सन्तुलित हुने विश्वास गरिएको छ।
गत सिजन तेस्रो स्थानमा रहेको काठमाडौं स्पाइकर्सले यसपटकको संस्करणमा बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। टोलीमा नेपाली
राष्ट्रिय टोलीकी स्पाइकर उषा भण्डारी मार्की खेलाडीका रूपमा छन् भने अन्य खेलाडीहरूमा मनिषा चौधरी, यमुना रसाइली, रीमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आसिका क्षत्री र भुवनेश्वरी चन्द रहेका छन्। टोलीको मुख्य प्रशिक्षक लोकबहादुर बुढा हुन्।
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुनेछ। टोलीले तेस्रो विदेशी खेलाडीको नाम पनि चाँडै सार्वजनिक गर्ने जनाएको छ।