साउन २८, २०८२।
काठमाडौँ – भारतको निर्वाचन आयोगले (Election Commission of India – ECI) हालै ३३४ राजनीतिक दलहरूको मान्यता खारेज गरेको छ। थप ४७६ दलमाथि समीक्षा प्रक्रिया पनि सुरु गरिएको छ।
निर्वाचन आयोगले यो कदम विगत छ वर्षसम्म कुनै लोकसभा वा विधानसभा चुनावमा भाग नलिएको दलहरूको निष्क्रियता र दुरुपयोग रोक्नका लागि उठाएको हो। जनप्रतिनिधित्व ऐन, १९५१ को धारा २९ अनुसार राजनीतिक दलले कम्तीमा छ वर्षमा एकपटक चुनावमा सहभागी हुनुपर्ने अनिवार्यता छ।
तर आयोगले पत्ता लगाएका यी दलले चुनाव चिन्ह, कर छुट लगायतका सुविधाहरू उपभोग गर्दै आइरहेका भए पनि सक्रिय रूपमा राजनीतिक गतिविधिमा संलग्न नभएको देखिएको छ।
निर्वाचन आयोगले ९ अगस्ट २०२५ मा ती ३३४ दललाई आफ्नो सूचीबाट हटाइदिएपछि भारतमा मान्यता नपाएका राजनीतिक दलहरूको संख्या अहिले दुई हजार ५२० पुगेको छ।
आयोगका अनुसार यो कदम निर्वाचन प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने प्रयासको हिस्सा हो जसले दलहरूको दुरुपयोगलाई रोक्न मद्दत पुर्याउनेछ। आयोगले यस्ता दलहरूको निष्क्रियता र सम्भावित दुरुपयोगलाई ध्यानमा राखेर यो अभियान सञ्चालन गरेको जनाएको छ।