साउन २३, २०८२। एजेन्सी
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ आयात शुल्क (ट्यारिफ) बिहीबारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएका छन्। यससँगै ९० भन्दा बढी देशबाट अमेरिका जाने सामानमा नयाँ कर दर लागू भएको छ जसको प्रत्यक्ष असर निर्यातकर्तादेखि उपभोक्ता सम्म पर्न सक्ने अनुमान गरिएको छ।
नयाँ नीतिअनुसार अमेरिकामा उच्च शुल्क तिर्नुपर्ने मुलुकमा ब्राजिल र भारत प्रमुख छन्। ब्राजिलका अधिकांश वस्तुमा ५० प्रतिशत ट्यारिफ तोकिएको छ भने भारतमाथि पनि ५० प्रतिशत शुल्क लाग्ने भएको छ, जुन २७ अगस्टदेखि लागू हुनेछ।
नेपालका सामानमाथि पनि पहिलो पटक १० प्रतिशत ट्यारिफ लागू गरिएको छ। विशेषज्ञहरूको भनाइमा यो शुल्कले नेपाली निर्यातमा केही असर पार्ने भए पनि अन्य देशको तुलनामा दर न्यून भएकाले प्रतिस्पर्धात्मक अवसर पनि देखिन्छ।
अमेरिका–चीनबीच ट्यारिफसम्बन्धी वार्ता जारी छ र दुवै पक्षले १२ अगस्टसम्म नयाँ ट्यारिफ लागू नगर्ने सहमति गरेका छन्। मेक्सिकोका लागि ट्रम्प प्रशासनले ९० दिनसम्म पुरानै कर दर कायम राख्ने निर्णय गरेको छ भने क्यानडामाथि गत शुक्रबारदेखि ३५ प्रतिशत ट्यारिफ लागू भइसकेको छ।
व्यापार विश्लेषकहरूका अनुसार अमेरिकी ट्यारिफ नीतिले अन्तर्राष्ट्रिय बजारमा उतार–चढाव ल्याउने सम्भावना छ। नेपालले कम दरको शुल्कलाई निर्यात विस्तारको अवसरका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ।