KATHMANDU DAINIK

भदौ २३ लाई जेनजी शहीद दिवस घोषणा, शहीद परिवारलाई परिचयपत्र वितरण

मंसिर १६, २०८२।  काठमाडौं दैनिक संवाददाता

काठमाडौं – सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ को रूपमा राष्ट्रिय रूपमा मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्।

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्दै त्यो दिनलाई औपचारिक स्मृति दिवसका रूपमा मनाइने स्पष्ट गरेको छ। साथै, आन्दोलनमा जीवन गुमाएका ४५ जना व्यक्तिलाई यसअघि नै शहीद घोषणा गरिसकेको भन्दै अब शहीद परिवारका सदस्यहरूलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरिएको मन्त्री खरेलले बताए।

सरकारका अनुसार, परिचयपत्र आमा–बुबा, श्रीमती, अविवाहित छोरी तथा अविवाहित छोरालाई प्रदान गरिनेछ। यसले शहीद परिवार पहिचान, सहुलियत तथा सहयोगसम्बन्धी सरकारी प्रक्रियामा सहजता ल्याउने विश्वास लिइएको छ।

सरकारको यो निर्णयसँगै आंशिक रूपमा भएपनी जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूको योगदान औपचारिक रूपमा राज्यद्वारा मान्यता पाउने भएको छ। भविष्यमा दिवसको कार्यक्रम कसरी सञ्चालन गर्ने भन्नेबारे सम्बन्धित निकायबीच छलफल अघि बढाइने समेत बताइएको छ।

Exit mobile version