
भदौ ५, २०८२।
काठमाडौं – नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। बुधबार काजालिस एरिनामा भएको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो।
यसअघि नेपालले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनले हराएको थियो।
सोमपाल कामीको घातक बलिङ
नेपालका तेज बलर सोमपाल कामी खेलको नायक बने। उनले ४ ओभरमा मात्र १७ रन खर्चेर ५ विकेट लिए। उनको शानदार प्रदर्शनपछि रेनेगेड्सको टिम २० ओभरमै १०६ रनमा अलआउट भयो।
सहायक बलरमध्ये कुशल भुर्तेलले २ विकेट लिन सफल भए भने रूपेश सिंह, दीपेन्द्र सिंह ऐरी र शाहब आलमले समान १–१ विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको लक्ष्य बनाएको थियो।
कुशल मल्ल : २९ रन
कप्तान दीपेन्द्र सिंह ऐरी : २७ रन
लोकेश बम : २४ रन
भीम सार्की : १७ रन
सुरुवाती तीन खेलमा लगातार पराजित भएको नेपाल अहिले भने दुई खेल लगातार जित्दै ५ खेलबाट ४ अंक जोड्न सफल भएको छ। यस जितसँगै नेपाल प्रतियोगितामा पुनः लयमा फर्किएको छ।