मंसिर १८, २०८२। काठमाडौ दैनिक संवाददाता

काठमाडौं – जेनजी अभियन्ता सुदन गुरुङले बिहीबार नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन्। भेटमा देशको वैकल्पिक राजनीतिक धारलाई एउटै मोर्चामा ल्याउनेबारे सकारात्मक संकेत देखिएको गुरुङले बताएका छन्।
गुरुङका अनुसार भेटमा उनले सबै वैकल्पिक शक्तिलाई एउटै मंचमा ल्याउने प्रस्ताव राखेको र त्यसबारे रवि लामिछाने सकारात्मक देखिएको जानकारी दिए।
गुरुङले भने, हामी सकारात्मक छौँ, तपाईंहरूले मिलाउने पहल गर्नुस्। सबै वैकल्पिक शक्ति मिल्न सके नेपाली जनताले निकास पाउने छन्, भनेर रविले प्रतिक्रिया दिए।
भेटका क्रममा रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफूले अन्याय भोगिरहेको भन्दै छिटो निष्कर्षमा पुग्न पहल गरिदिन गुरुङसँग अनुरोध गरेको पनि बताइएको छ।
उनका अनुसार, गल्ती गरेको भए कारबाही होस्, होइन भने न्याय होस्। न्यायालयको प्रक्रियालाई छिटो टुंग्याउन सहयोग गरिदिनुहोस् भनेर आग्रह गरेको गुरुङले बताए।
रवि लामिछानेले जेनजी अभियानलाई देश निर्माणको महत्वपूर्ण कदम भन्दै आफू पूर्ण साथमा रहेको र देशका वैकल्पिक नेताहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
गुरुङले केही दिनअघि भएको कुलमान घिसिङ र काठमाडौंका मेयर बालेन साहबीचको भेटमा पनि आफूले सहजीकरण गरेको दाबी दोहोर्याएका छन्। उज्यालो नेपालका एक शीर्ष नेताले पनि सुदनजी सुरुदेखि नै सबैलाई एक ठाउँमा ल्याउन लागिरहनुभएको छ भनेर पुष्टि गरेका छन्।
सुदन गुरुङ पछिल्लो समय कुलमान, रवि, बालेन र हर्क साम्पाङ लगायत वैकल्पिक धारणाका विभिन्न ध्रुवहरूलाई एउटै सहकार्यताको बाटोमा उभ्याउने प्रयासमा सक्रिय देखिएका छन्।