कार्तिक २२, २०८२। उपसना पौडेल
काठमाडौँ – विद्युत् सर्टका कारण करिब चार घण्टासम्म बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार राति पुनः सञ्चालनमा आएको छ। विमानस्थलको धावनमार्ग (Runway) सम्बन्धी विद्युत् आपूर्तिमा समस्या आएपछि दिउँसो ३:३० बजेदेखि उडान स्थगित गरिएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, प्राविधिक टोलीले विद्युत् सर्किट मर्मतकार्य सम्पन्न गरी राति ९:३६ बजे विमानस्थल सञ्चालनमा ल्याएको हो। विमानस्थल खुल्ने बित्तिकै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू क्रमशः पुनः सुरु भएका छन्।
उड्डयन प्राधिकरणका अनुसार, धावनमार्गको विद्युत् आपूर्ति पूर्ण रूपमा स्थिर भएपछि उडान तालिका सामान्य अवस्थामा फर्काइनेछ। यस अवधिमा यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरी विमानस्थलमा सुरक्षात्मक सतर्कता अपनाइएको थियो।
