KATHMANDU DAINIK

ट्रम्प–पुटिन अलास्का वार्ता निष्कर्षविहीन: युक्रेन युद्ध रोकिएन

ट्रम्प पुटिन वार्ता, युक्रेन युद्धविराम, अलास्का वार्ता, ट्रम्प जेलेन्स्की भेट, रुस युक्रेन आक्रमण, पुटिन अडान, ट्रम्प कूटनीति, युक्रेन नेटो सदस्यता, रूस मिसाइल हमला, ट्रम्प चुनावी घोषणा, ट्रम्प पुटिन भेट, ट्रम्प रिझाइ रणनीति, जेलेन्स्की अमेरिका भ्रमण, रुस ड्रोन हमला, युद्धविराम वार्ता

साउन ३१, २०८२।   एजेन्सी 

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको बहुप्रतीक्षित वार्ता बिना सहमति टुङ्गिएको छ। ट्रम्पले चुनावी अभियानकै क्रममा जितेको २४ घण्टाभित्र रुस–युक्रेन युद्धविराम गराउने घोषणा गरेका थिए। तर नौ महिनापछि भएको यो पहिलो बैठक निष्कर्षविहीन रहँदा उनको कूटनीतिक क्षमतामाथि प्रश्न उठ्न थालेको छ।

वार्ताको तयारी र अपेक्षा

अलास्काको एंकोरेजमा शुक्रबार भएको यो वार्ता अमेरिकी पक्षका लागि अत्यधिक प्रतीक्षित थियो। ट्रम्प, सिनेटर मार्को रुबियो, विदेश नीति सल्लाहकार विट कफलगायत अधिकारी सहभागी थिए। पुटिनको साथमा विदेशमन्त्री सर्गेई लाभरोभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ र प्रमुख आर्थिक सल्लाहकार किरिल दिमित्रीभ थिए।

वार्ता झण्डै ६ घण्टा चल्ने भनिएको थियो तर ३ घण्टामै टुङ्गियो। यद्यपि पत्रकार सम्मेलनमा दुवै नेताले “केही प्रगति भएको” दाबी गरे पनि स्पष्ट सहमति के मा भयो भन्ने खुलाइएको छैन।

वार्ताकै दिन रुसी आक्रमण

ट्रम्प र पुटिन वार्ता गर्दै गर्दा रुसले युक्रेनमाथि ८५ वटा आत्मघाती ड्रोन र ‘इस्कान्दर–एम’ नामको एक बलिष्ट मिसाइल प्रहार गर्‍यो। यो कदमले पुटिनको अडान झन् कडा भएको सन्देश दिएको छ।

युद्धविरामका लागि पुटिनले चार अडान राखेका छन्।

युक्रेनको केही भूभाग रुसमा गाभिनु

युक्रेनी सेनाको आकार घटाउनु

युक्रेनलाई नेटोमा प्रवेश नदिइनु

युक्रेनको सरकार परिवर्तन हुनु

यी मागहरू स्वीकार गर्न अमेरिकी प्रशासन तयार नदेखिएको संकेत भेटमा झल्किएको थियो।

ट्रम्पको नम्रता र पुटिनको प्रभुत्व

२०१९ यता पहिलोपटक आमनेसामने भएका ट्रम्प र पुटिनबीचको सम्बन्धमा नम्रता झल्किएको देखियो। ट्रम्पले पत्रकार सम्मेलनमा पुटिनलाई पहिले बोल्न दिए, पुटिन बोलिरहँदा मुस्कुराउँदै सुने। विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो व्यवहारले पुटिनलाई झन् शक्तिशाली बनाएको छ।

पुटिनलाई अमेरिकी भूमिमा रेड कार्पेट र लडाकु विमानद्वारा स्वागत गरियो। यसले पनि पुटिनको कूटनीतिक उचाइ अझ बढाएको विश्लेषण गरिएको छ।

अब जेलेन्स्कीको पालो

वार्तापछि ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई अमेरिका आउन निम्तो दिए। वाशिङटन फर्किँदै गर्दा ट्रम्पले एयर फोर्स वानबाटै टेलिफोन संवाद गरी भेटको प्रस्ताव गरेका थिए। जेलेन्स्कीले निम्तो स्वीकार्दै सोमबार वाशिङटन जान लागेका छन्।

तर अब जेलेन्स्कीको निर्णयमा युक्रेनको भविष्य निर्भर हुनेछ। उनी युद्ध अन्त्य गर्न चाहन्छन् तर आफ्नो भूमि गुमाउन चाहँदैनन्। पुटिन भने भू-भाग कब्जा गरेर मात्रै युद्ध रोक्न तयार देखिन्छन्। यस्तो परिस्थितिमा ट्रम्प–जेलेन्स्की वार्ता निर्णायक बन्ने अपेक्षा गरिएको छ।

Exit mobile version