
भदौ २७, २०८२।
काठमाडौं – जेन–जी आन्दोलन दोस्रो दिन हिंसात्मक बन्दै जाँदा देशभर ३१ युवाको ज्यान गएको छ। काठमाडौंदेखि गोरखा, कञ्चनपुर र धनगढीसम्म परिवारहरू शोकमा डुबेका छन्।
प्रहरीको गोली लागेर काठमाडौंमा मात्रै २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १७ सयभन्दा बढी घाइतेमध्ये ३ सयभन्दा बढी अझै उपचाररत छन्।
धनगढीका २१ वर्षीय गौरव जोशी, तनहुँका २६ वर्षीय ईश्वत अधिकारी, बानेश्वरका १९ वर्षीय श्रेयम चौलागाईं, नेपालगन्जका सुलभराज श्रेष्ठ, गोरखाका विमल भट्ट, रमेश पराजुली, अर्जुन भट्ट र कञ्चनपुरका निरज पन्तलगायतको मृत्यु भएको पुष्टि भएको छ।
परिवारजनले मृतकलाई सहिद घोषणा गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई राहत दिन माग गरेका छन्। विद्यालय र कलेजहरूले विज्ञप्ति जारी गर्दै “निहत्था विद्यार्थीमाथि गोली चलाउनु राज्यको असफलता” भनेका छन्।
देशभर आन्दोलन चर्किँदै जाँदा युवाको बलिदानले अब मुलुकलाई कुन दिशातर्फ लैजान्छ भन्ने प्रश्न उब्जिएको छ।