मंसिर १७, २०८२। प्रकाश डुम्रे, बुटवल

रुपन्देही – बुटवलको शैक्षिक वातावरण पछिल्ला दिनमा एउटा फरक र रचनात्मक दृश्यले आकर्षित भइरहेको छ। बिहान ७ नबज्दै सिद्धार्थ गौतमबुद्ध क्याम्पसको गेटमा गुलाफका फुल बोकेको डेढ दर्जन विद्यार्थीको समूह देखिनु, अनि केही समयमै चिकित्सकहरूको टोली त्यहीँ आउने, यही नयाँ दृश्य आजकल क्याम्पसमा सामान्यजस्तै बनेको छ।
बिप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल समाजवादीले हाल बुटवलका क्याम्पसहरूमा ‘गुलाफ र स्वास्थ्य’ अभियान चलाइरहेको छ। गुलाफको फुलमार्फत सकारात्मक सन्देश, र चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम यही संयोजन लिएर उनीहरूले बुधबार सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गरेका छन् ।
कार्यक्रममा वरिष्ठ स्त्री तथा महिला रोग विशेषज्ञ डा. बिन्दु खरेल नेतृत्वको चिकित्सक टोली उपस्थित थियो। टोलिले क्याम्पसमा अध्ययनरत किशोरीहरूलाई प्राथमिक स्वास्थ्य, महिनावारी स्वास्थ्य, मानसिक स्वास्थ्य तथा अन्य समस्याबारे परामर्श प्रदान गरे ।
अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य बिष्णु बहादुर राउतका अनुसार यो अभियान बुटवलका विभिन्न शैक्षिक संस्थामा क्रमिक रूपमा सञ्चालन भइरहेको छ। केही दिनअघि बुटवल बहुमुखी क्याम्पसलगायत अन्य स्थानहरूमा पनि यस्तै कार्यक्रम सम्पन्न भइसकेको छ।
बुधबारको कार्यक्रम नेकपा माओवादीका केन्द्रीय सदस्य सरद सीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। म स्वस्थ, क्याम्पस स्वस्थ, देश स्वस्थ भन्ने नारा सहित आयोजित क्याम्पस इकाइ समितिको आधारभूत स्वास्थ्य तथा प्राथमिक उपचार तालिम इकाइ संयोजक गणेश सीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागी अतिथि तथा प्रतिनिधिहरू
नेकपा माओवादी रुपन्देही सचिव बिरेन्द्र सी
स्त्रीरोग विशेषज्ञ डा. बिन्दु खरेल
क्याम्पस प्रमुख गोपाल चापागाईं
जनस्वास्थ्य निरीक्षक अर्बिन्द चन्द
अखिल समाजवादी लुम्बिनी प्रदेश सह–इन्चार्ज बिष्णु बहादुर राउत (बिज्ञान)
नेसनल प्याथ ल्याब प्रमुख प्रकाश न्यौपाने
जिल्ला अध्यक्ष पदम नेपाली
लगायतका व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो।
विद्यार्थी नेता बिष्णु बहादुर राउतले रुपन्देहीको अन्य कलेज तथा विद्यालयहरूमा पनि यस्तै सिर्जनात्मक तथा शिक्षामूलक अभियान विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।