कार्तिक २६, २०८२। काठमाडौं दैनिक संवाददाता
काठमाडौं – कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपालीहरूलाई कार्यालय परिसरमा ठूलो स्वरमा कुरा नगर्न र अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ।
दूतावासका अनुसार पछिल्लो समयमा दूतावास नजिकैका आवासीय भवनमा बसोबास गर्ने स्थानीयहरूले असहजता महसुस भएको भन्दै बारम्बार गुनासो गरेका छन्। त्यसकै प्रतिक्रियामा दूतावासले बुधबार सूचना जारी गर्दै सेवाग्राहीहरूलाई सभ्य व्यवहार अपनाउन र कार्यालय समयमै मात्र उपस्थित हुन आग्रह गरेको हो।
सूचनामा भनिएको छ, “यस दूतावासको परिसर बाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला हुने, सवारीसाधन पार्क गर्ने, ठूलो स्वरमा कुरा गर्ने र हो–हल्ला गर्ने कार्यले छिमेकीहरूलाई असहजता भएको छ। यस्तो व्यवहार नदोहोर्याउन अनुरोध गरेको छ।
दूतावासले अत्यावश्यक कारणले चाँडै आउनुपर्ने सेवाग्राहीले पनि बिहान ८ बजेपछि मात्र आउन अनुरोध गरेको छ। साथै, सेवा लिन सम्बन्धित व्यक्ति मात्र उपस्थित हुनुपर्ने र कार्यालय परिसरमा अनावश्यक रूपमा लामो समय बस्न नहुने उल्लेख गरिएको छ।
