KATHMANDU DAINIK

साउदी अरेबियाको जेलमा रहेका ६२ जना नेपाली रिहा

साउन २१, २०८२।

काठमाडौं – साउदी अरेबियाले विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका ६२ जना नेपाली नागरिकलाई रिहा गरेको छ। इस्लामिक नयाँ वर्ष १४४६ हिजरी तथा ईदको अवसर पारेर उनीहरूलाई क्षमादान दिइएको हो।

साउदी सरकारको यो निर्णयले राहत पाएका नेपालीहरू अब कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने छन्।

यस घटनापछि परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी सरकारप्रति आभार प्रकट गरेको छ। मन्त्रालयले नेपाली नागरिकहरूप्रति देखाइएको सद्भावपूर्ण व्यवहारको उच्च प्रशंसा गर्दै यस कदमले नेपाल–साउदी सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गरेको छ।

साउदी जेलमा पर्ने अधिकांश नेपालीहरू काममा जाने क्रममा हुने कागजी कमजोरी, वीजा म्याद सकिने, आपराधिक मुद्दा वा अवैध बसोबास र गैरकानुनी काम गर्ने लगायत कारणले पक्राउ पर्ने गर्दछन्। यस्तो अवस्थामा उनीहरूलाई छुटाउन नेपाली दूतावास र परराष्ट्र मन्त्रालयले पहल गर्दै आएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार रिहाइ पाएका सबै नेपालीहरू साउदी सरकारको क्षमादान नीति अन्तर्गत परेका हुन्। अब उनीहरूलाई नेपाली नियोगमार्फत आवश्यक कागजी प्रक्रिया मिलाएर स्वदेश फर्काउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

Exit mobile version