KATHMANDU DAINIK

इरानको परमाणु कार्यक्रमप्रति पाकिस्तानको समर्थन

इरान पाकिस्तान सम्बन्ध, इरानको परमाणु कार्यक्रम, इजरायल विरुद्ध समर्थन, मसूद पेजेश्कियान, शहबाज शरीफ, इरान पाकिस्तान सम्झौता, मुस्लिम राष्ट्र एकता, मध्यपूर्व राजनीति।

श्रावण १९, २०८२।    एजेन्सी

काठमाडौँ – इरानको परमाणु ऊर्जामाथि अन्तर्राष्ट्रिय निगरानी र आलोचना भइरहेका बेला पाकिस्तानले खुलेर समर्थन जनाएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानलाई शान्तिपूर्ण प्रयोजनका लागि परमाणु ऊर्जाको प्रयोग गर्न पाउने अधिकार रहेको बताएका छन्।

हालै इरानमा भएको इजरायली आक्रमणप्रति निन्दा जनाउँदै प्रधानमन्त्री शरीफले इरानको आत्मरक्षात्मक कदमको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार इरानी राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तानको भ्रमणमा रहँदा यी अभिव्यक्तिहरू सार्वजनिक भएका हुन्।

पाकिस्तान भ्रमणका क्रममा राष्ट्रपति पेजेश्कियानले दुई देशबीच व्यापार, कृषि, विज्ञान, प्रविधि, सूचना सञ्चार, समुद्री सुरक्षा लगायतका १२ वटा सम्झौतामा हस्ताक्षर गरेका छन्। पाकिस्तानको सरकारी समाचार संस्था एपीपी का अनुसार, यी समझदारीहरूले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

इरानी राष्ट्रपति पेजेश्कियानले इजरायलमाथि गम्भीर आरोप लगाउँदै भनेका छन्, इजरायल क्षेत्रीय अस्थिरता बढाउने योजनामा जुटिरहेको छ। यस्तो अवस्थामा मुस्लिम राष्ट्रहरू एकताबद्ध भएर शान्तिको मार्ग अवलम्बन गर्न जरुरी छ।

प्रधानमन्त्री शरीफले पनि आतंकवादको साझा चुनौतिविरुद्ध पाकिस्तान र इरानको सोच एकरूप भएको बताए। एसिया क्षेत्रमा शान्ति र समृद्धिको बाटो खुला राख्न दुवै देश सहकार्य गर्न तत्पर छन्, उनले स्पष्ट पारे।

पेजेश्कियानले इजरायली आक्रमणविरुद्ध आवाज उठाएकोमा पाकिस्तानप्रति आभार प्रकट गर्दै पाकिस्तानसँगको सम्बन्ध इरानको विदेश नीतिको एउटा महत्वपूर्ण अङ्ग भएको उल्लेख गरे।

यो घटनाक्रम इजरायलसँग तनाव चुलिरहेको क्षेत्रीय राजनीतिक सन्दर्भमा आएको हो, जहाँ इरान र पाकिस्तानबीचको सहकार्यले नयाँ कूटनीतिक मोड लिने संकेत देखिएको छ।

Exit mobile version