KATHMANDU DAINIK

इजरायलमा बन्धक विपिन जोशीको रिहाइका लागि आमा र बहिनीको भावुक अपिल

विपिन जोशी, नेपाली बन्धक, इजरायल गाजा युद्ध, होस्टेज स्क्वायर, पद्मा जोशी, पुष्पा जोशी, हमास आक्रमण, नेपाली विद्यार्थी इजरायल, गाजा युद्ध
इजरायलका राष्ट्रपति इसाक हेर्जोग र उनकी पत्नी मिचेलसँग विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा । उनीहरूलाई इजरायल सरकारले गत साता झिकाएको हो ।

भदौ ३, २०८२।

काठमाडौ – इजरायली राष्ट्रपति इसाक हेर्जोगले प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। उनले हालै विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पासँग तेल अविभस्थित ‘होस्टेज स्क्वायर’ मा आयोजित कार्यक्रममा भेट गर्दै उक्त आश्वासन दिएका हुन्।

२२ वर्षीय विपिन जोशी सुदूरपश्चिम नेपालको कञ्चनपुरबाट कृषिसम्बन्धी अध्ययनका लागि इजरायल गएका थिए। सन् २०२३ को अक्टोबर ७ मा हमासको हमलापछि उनी गाजामा बन्धक बनाइएका थिए। दुई वर्ष पुग्न लाग्दासमेत उनको अवस्थाबारे परिवारलाई कुनै निश्चित जानकारी प्राप्त हुन सकेको छैन।

राष्ट्रपति हेर्जोगले पुष्पाले बोकेको विपिनको ठूलो तस्वीरलाई काखमा राख्दै भावुक हुँदै भने, “यी हुन् विपिन जोशी। उनी नेपालबाट अध्ययन गर्न आएका एक होनहार युवा हुन्। हामी उनलाई सुरक्षित घर फर्काउन हरेक सम्भव प्रयास गर्नेछौं।

विपिनकी बहिनी पुष्पाले हजारौं मानिसको उपस्थितिमा आयोजित कार्यक्रममा भनिन्, दाइ ६८० दिनभन्दा बढी समयदेखि अँध्यारो कोठामा बन्धक हुनुहुन्छ। हामी उहाँको आवाज पनि सुन्न सकेका छैनौं। यो हाम्रो लागि नरक जस्तै हो।

उक्त कार्यक्रममा नेपाली राजदूत धनप्रसाद पण्डित, इजरायली राष्ट्रपति पत्नी मिचेल, र क्याप्टेन नादभ बेन याहुदालगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए। क्याप्टेन याहुदाले विपिनलाई वीर भन्नुका साथै उनी आतंककारीको ग्रिनेड उनीहरूलाई नै फिर्ता फ्याँक्ने साहसी व्यक्ति हुन् भन्दै उनको रिहाइमा आफैं संलग्न हुने वाचा गरेका छन्।

इजरायलले हमासको कब्जाबाट बन्धकहरू छुटाउने अभियान अन्तर्गत गाजामा सैन्य कारबाही तीव्र बनाएको छ। प्रधानमन्त्री नेतान्याहुले गाजा क्षेत्रमा पूर्ण नियन्त्रण लिने घोषणा गरेका छन्। इजरायली विदेशमन्त्री गिडेअन साअरले पनि पद्मा र पुष्पासँग भेट गर्दै सरकारको निरन्तर पहलबारे जानकारी दिएका छन्।

यसैबीच नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत विपिनको रिहाइका लागि निरन्तर पहल भइरहेको बताएका छन्। उनले टर्की र इजिप्टका राष्ट्रपतिहरूसँग वार्ता भइसकेको उल्लेख गर्दै विपिनको शीघ्र र सुरक्षित रिहाइ हाम्रो प्राथमिकता हो भनेका छन्।

Exit mobile version