KATHMANDU DAINIK

रेमिटेन्सले बनायो आर्थिक सुधारको नयाँ इतिहास : एक महिनामै पौने दुई खर्ब

२५ असार २०८२, काठमाडौं — नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हालैको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ११ महिनामै देशमा इतिहासमै उच्चतम रेमिटेन्स भित्रिएको छ। यस अवधिमा नेपालले १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको विप्रेषण प्राप्त गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १५.५ प्रतिशतले बढी हो।

यसै महिनामा मात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँको रेमिटेन्स भित्रिएको उल्लेख गर्दै राष्ट्र बैंकले यो तथ्याङ्कलाई नयाँ आर्थिक किर्तिमानका रूपमा व्याख्या गरेको छ। अघिल्लो वर्षको यही महिनामा १ खर्ब २८ अर्ब मात्र आएको थियो।

नेपालमा रोजगारका पर्याप्त अवसरको अभावले लाखौं नेपाली युवा विभिन्न खाडी देश, मलेसिया, कोरिया, जापानदेखि अमेरिका, युरोपसम्म पुगिरहेका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५२ हजार ३२४ पुगेको छ। पुनः श्रम स्वीकृति लिने संख्या ३ लाख ८ हजार ६७ छ।

यी लाखौं युवाको पसिना र परिश्रमको परिणाम नै हो देशमा विप्रेषणको यो ऐतिहासिक वृद्धिदर।

विदेशी विनिमय सञ्चिति पनि २५.९ प्रतिशतले वृद्धि भएर २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा हेर्दा, यो सञ्चिति १८ अर्ब ६५ करोड बराबर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो।

राष्ट्र बैंकले भनेको छ, अहिलेको सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यस्तो स्थिति सन् २०२० को कोरोना महामारी यता पहिलो पटक देखिएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले मुद्रास्फीति पनि घटेको जनाएको छ। हाल वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.१७ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थमा ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवामा ३.९४ प्रतिशत मुद्रास्फीति देखिएको छ। खासगरी घ्यु-तेल, दाल-गेडागुडी, तरकारी र फलफूलजस्ता खाद्यवस्तुमा मूल्यवृद्धि सन्तुलित देखिएको छ। यसले निम्न तथा मध्यम वर्गका आम नागरिकलाई राहत दिएको छ।

चालु खाता तीन खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा गएको छ। अमेरिकी डलरमा भने यो बचत २ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो वृद्धि निकै उत्साहजनक छ।

त्यस्तै शोधनान्तर स्थिति पनि चार खर्ब ९१ अर्ब ४४ करोड रूपैयाँले बचतमा देखिएको छ। यो तथ्यांकले नेपालको समष्टिगत आर्थिक सन्तुलनमा ठूलो सुधार भएको स्पष्ट गर्छ।

नेपालले समीक्षावधिमा ११ अर्ब ९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्र्याएको छ। अघिल्लो वर्षको यही अवधिमा यो लगानी ८ अर्ब २४ करोड मात्र थियो।

यस्तो लगानीले औद्योगिक, पूर्वाधार, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केही नयाँ आशा र अवसर सिर्जना गरेको देखिन्छ।

बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले वृद्धि गरेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६३ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ र ३७ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा प्रवाह भएको छ।

बैंकहरूबाट वाणिज्य क्षेत्रमा कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैंकहरूबाट ४.७ प्रतिशत र वित्त कम्पनीहरूबाट ६.९ प्रतिशतले वृद्धि भएको छ।

वाणिज्य, सेवा, यातायात, सञ्चार, कृषि, निर्माण र उपभोग क्षेत्रतर्फ प्रवाहित कर्जामा पनि उल्लेखनीय वृद्धि देखिएको छ:

औद्योगिक उत्पादन क्षेत्रमा ८.२%, निर्माण क्षेत्रमा १२.९%, थोक तथा खुद्रा व्यापारमा ५.२%, सञ्चार र सार्वजनिक सेवामा १३.५%, सेवा उद्योगमा ८.८%, उपभोग्य क्षेत्रमा १०.९% घरजग्गा धितोमा आधारित कर्जा प्रवाह भने अझै पनि उच्च रहेको छ ।

नेपालको समष्टिगत आर्थिक सूचकहरू सकारात्मक देखिनु रेमिटेन्सको ऐतिहासिक योगदानको परिणाम हो। देशका लाखौं युवाहरुले विदेशी भूमिमा गरेको श्रमको फल अहिलेको आर्थिक सुधार हो। मुद्रास्फीति नियन्त्रणमा आउनु, विदेशी मुद्रा सञ्चिति बढ्नु, चालु खाता तथा शोधनान्तर बचतमा जानुजस्ता सूचकहरूले सरकार र नीतिनिर्मातालाई थप दूरदृष्टि देखाउन प्रेरणा दिनुपर्छ।

Exit mobile version