KATHMANDU DAINIK

विराटनगर किङ्समा सन्दिपको “कमब्याक” एनपीएलको तयारी

विराटनगर किङ्समा सन्दिपको “कमब्याक” एनपीएलको तयारी गर्दै

विराटनगर किङ्समा सन्दिपको "कमब्याक" एनपीएलको तयारी

असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता

विराटनगर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर सन्दीप लामिछाने फेरि एकपटक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सबाटै खेल्ने भएका छन्।

विराटनगर किङ्सले सार्वजनिक गरिएको सूचना अनुसार विराटनगर किङ्सले सन्दीपलाई “मार्की खेलाडी” को रूपमा रिटेन गरिएको जानकारी गराएको छ। यससँगै नेपाली क्रिकेटमा चर्चित नाम सन्दीप फेरि एकपटक एनपीएलमा विराटनगरको नेतृत्व गर्ने भएका छन्।

पछिल्लो वर्ष विराटनगर किङ्सको कप्तानी सम्हालेका सन्दीपले टिमलाई प्रेरणा दिने भूमिका खेलेका थिए, यद्यपि टीमको समग्र प्रदर्शन कमजोर भने रह्यो। सात खेलमध्ये मात्र दुई खेलमा जीत हात पार्न सफल विराटनगर किङ्स अन्तत आठ टीममध्ये सातौं स्थानमा सीमित भएको थियो।

यति कमजोर प्रदर्शनको बाबजुद पनि सन्दीपप्रति विराटनगर किङ्सले निरन्तर विश्वास दर्शाउनु उनीप्रति रहेको भरोसा हो। रिटेन गर्ने निर्णयले टीमको दीर्घकालीन रणनीतिमा सन्दीपको भूमिका अझ स्पष्ट पारेको छ।

एनपीएलको दोस्रो संस्करणअन्तर्गत प्रत्येक टोलीलाई ६ खेलाडी रिटेन गर्न पाउने प्रावधान रहेको छ। त्यसैअनुसार विराटनगरले पनि आफ्ना महत्त्वपूर्ण खेलाडीहरूलाई रिटेन गर्ने तयारी थालेको छ।

गत सिजन विराटनगरबाट खेलेका अन्य खेलाडीहरूमा लोकेश बम, बसिर अहमद, कमल खत्री, दिपक बोहरा, सुवास भण्डारी, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जीसी र नरेन भट्ट रहेका छन्। तीमध्येबाट ६ जना खेलाडीहरु छानिनेछन्।

मार्की खेलाडीहरू भने स्वतन्त्र रूपमा रिटेन गर्न सकिन्छ, र सन्दीप त्यही श्रेणीमा परेका छन्। यसले उनलाई टिमभित्र विशेष भूमिका दिने कुराको संकेत गरेको छ ।

एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सनको आयोजना हुने छ। यस अक्सनमा टोलीहरूले बाँकी खेलाडीहरू चयन गर्नेछन्। यो प्रक्रियाले नेपाली क्रिकेटमा प्रतिस्पर्धा, गतिशीलता र रणनीतिक गहिराइ थप्ने अपेक्षा गरिएको छ। खासगरी युवा खेलाडीहरूका लागि यो अक्सन अवसरको महत्त्वपूर्ण ढोका हुनेछ।

पहिलो सिजनमा निराशाजनक प्रदर्शन पछिको दोस्रो सिजन विराटनगरका लागि पुनःस्थापना (comeback) को अवसर हो। कप्तानको भूमिकामा सन्दीपले अनुभव, क्षमता र अन्तर्राष्ट्रिय क्रिकेटको समझदारी प्रयोग गरेर टीमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको बताइएको छ ।
कप्तानको रूपमा उनको योजनाले टिमको संरचना, खेल रणनीति र मनोबललाई बलियो बनाउन मद्दत गर्नेछ।

सन्दीप लामिछाने नेपाली क्रिकेटको एक प्रतीक हुन् । अन्तर्राष्ट्रिय स्तरमा विभिन्न लिगहरूमा प्रदर्शन गरिसकेका उनले नेपाली क्रिकेटमा नयाँ सम्भावना देखाएका छन्। उनको उपस्थितिले एनपीएलको प्रसारण सम्भावना र दर्शकको आकर्षणमा समेत वृद्धि हुने देखिन्छ।

नेपाल प्रिमियर लिग देशभित्रको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। यसको माध्यमबाट नेपाली क्रिकेटले घरेलु मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाउने प्रयास गरिरहेको छ। एनपीएलले खेलाडीहरूलाई आर्थिक रूपमा पनि सशक्त बनाउँदै आएको छ।

विराटनगर किङ्सजस्ता टिमहरू सन्दीपजस्ता खेलाडीलाई रिटेन गर्नुको अर्थ आर्थिक लगानीसँग समेत जोडिएको हुन्छ।
सन्दीपको रिटेन्सनले क्रिकेट प्रेमीहरूमा उत्साह त ल्याएको छ तर यसपटक दर्शकहरूले मात्र नाम होइन, नतिजामूलक प्रदर्शनको अपेक्षा पनि गरेका छन्।

एनपीएलको दोस्रो सिजन केवल प्रतियोगिता नेपाली क्रिकेटको भविष्य निर्माणतर्फको अर्को महत्वपूर्ण पाइला हुनेछ ।

 

Exit mobile version