KATHMANDU DAINIK

यु – १६ नेपाल र मलेसिया सेमिफाइनल खेल्दै

एसीसी यू–१६ इस्ट जोन कप : नेपाल र मलेसिया  सेमिफाइनल खेल्दै 

असार १९, २०८२। काठमाडौं दैनिक : संवाददाता

नेपालको युवा क्रिकेट टोली आज बिहानदेखि मलेसियासँग ऐतिहासिक सेमिफाइनल भिडन्तमा उत्रिएको छ। एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तर्गत, यो खेल मलेसियाको सेलांगर टर्फ क्लब मैदानमा बिहान ७:४५ बजे (नेपाली समय) सुरु भएको हो।

यो सेमिफाइनल खेल नेपालका लागि केवल अर्को जितको अवसर मात्र होइन यो फाइनलमा प्रवेश र उपाधि रक्षा गर्ने बाटो पनि हो।

नेपालले समूह ए मा रहेको चारै खेल जित्दै अपराजित यात्रा तय गरेको छ। भुटानमाथि २९८ रनको विशाल जितसँगै समूह चरण समाप्त गर्दा नेपालले सिंगापुर, जापान र इन्डोनेसिया विरुद्ध पनि सहज जित निकालेको थियो।
यस निरन्तर विजयीको यात्राले नेपाली टोलीलाई, प्रशिक्षक र सम्पूर्ण व्यवस्थापनलाई पनि आत्मबल र आशावादी बनाएको छ।

मलेसियाले समूह बी मा माल्दिभ्स, म्यानमार र थाइल्याण्ड माथि जित हात पारेको थियो। यद्यपि हङकङसँग हार बेहोर्दै उसले दोस्रो स्थानबाट सेमिफाइनलमा प्रवेश गर्‍यो।
घरेलु मैदानमा खेल्न पाउनु मलेसियाको लागि एक अवसर हो तर त्यससँगै समर्थन र अपेक्षाको चाप पनि बराबर हुने अनुमान छ।

आजै अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ भिड्दैछन्।
दुबै सेमिफाइनलका विजेताहरू शनिबार हुने उपाधि भिडन्तमा आमनेसामने हुनेछन्।

नेपाल अघिल्लो संस्करणको विजेता टोली हो।
त्यसैले अहिलेको टिममाथि उपाधि रक्षा गर्ने विशेष दायित्व छ।
कप्तान, प्रशिक्षक र ब्यवस्थापनले यो जिम्मेवारीलाई सम्मानसाथ लिइरहेका छन्। प्रशिक्षकका अनुसार आजको खेल नै सम्पूर्ण टुर्नामेन्टको निर्णायक मोड हो।

कप्तानसहित युवा खेलाडीहरूले सेमिफाइनल अघि सकारात्मक आत्मबल प्रस्तुत गरेका छन्। टोलिको अनुसार फाइनल पुग्नु मात्रै होईन, उपाधि जित्नु नै हाम्रो लक्ष्य हो।

१. ब्याटिङ :
नेपालका ब्याट्सम्यानहरूले समूह चरणमै एक शतक र तीन अर्धशतक बनाएर आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।
२. स्पिन बलिङ :
विशेषगरी स्पिन बलिङ विभाग प्रभावशाली देखिएको छ। भुटानविरुद्ध ४० रनमै पूरै टोली समेट्नु त्यही रणनीतिक सफलताको नतिजा थियो।

मलेसिया आफ्नै मैदानमा खेलेको फाइदा उठाउन चाहन्छ।
पिच, मौसम र खेल परिवेशमा परिचित छ। तर त्यही परिचित वातावरण कहिलेकाहीं अतिरिक्त दबाबको कारक पनि बन्न सक्छ।

नेपालले आजको सेमिफाइनल जित्छ जित्न सकेमा यो उपाधि दोहोर्‍याउने यात्राको प्रमुख चरण पार गर्ने संकेत हुनेछ। साथै, यसले नेपाली यू–१६ क्रिकेट टोलीलाई दक्षिण एसियाली स्तरमा थप सशक्त र विश्वसनीय बनाउनेछ।

फाइनल कहिले ?
एसीसी यू–१६ इस्ट जोन कपको फाइनल खेल शनिबार, असार २१ गते हुनेछ। आजको दुबै सेमिफाइनल सकिएपछि फाइनलको जोडी निश्चित हुनेछ।

नेपालले हालसम्म देखाएको खेल कौशल, रणनीति र आत्मबल हेर्दा मलेसियासँगको सेमिफाइनल जित्ने सम्भावना बलियो देखिन्छ। खेलमा निरन्तरता र धैर्यता कायम राख्न सके उपाधि यात्राको अर्को अध्याय लेखिने निश्चित छ।

 

Exit mobile version