KATHMANDU DAINIK

मन्त्री यादवको गुनासो “म बजेट लिएर खोज्दै छु, मेयर हर्क भाग्दै छन्

काठमाडौं, साउन ७ – खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङप्रति सार्वजनिक रूपमा गुनासो पोखेका छन्। धरानको खानेपानी समस्या समाधान गर्न आफू आवश्यक ६ अर्ब रुपैयाँको बजेट लिएर तयार भए पनि मेयर सम्पर्कविहीन रहेको भन्दै उनले सञ्चारकर्मीमार्फत खोजिदिन आग्रह गरेका छन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले भने “उहाँलाई स्टन्टबाज गर्नु छ, हामीलाई पानी दिनु छ। त्यो रित्तो गाग्रोमा पानी हालेर धरान त पुग्दैन। त्यसका लागि बजेट चाहिन्छ।

उनका अनुसार एक महिनासम्म मेयर साम्पाङले न फोन उठाएका छन्, न म्यासेजको जवाफ दिएका छन्। मन्त्रीले आफू धरानसम्म पुगेर पनि मेयरसँग भेट हुन नसकेको बताए।

म खोज्दै खोज्दै धरान गएँ, पालिकामा भेटिनुभएन। अब सञ्चारकर्मीहरूले नै खोजिदिनुपर्छ। म त बजेट लिएर तयार छु, उनले भने।

खानेपानी मन्त्रालयले धरानको खानेपानी समस्या समाधानका लागि ६ अर्ब बराबरको परियोजना अघि बढाउन चाहेको छ। तर, मन्त्रीको भनाइमा मेयर साम्पाङको ‘कानुनी जटिलता’ र ‘सहयोगको अभाव’ले प्रक्रिया रोकिएको छ।

मन्त्री यादवको टिप्पणीसँगै सामाजिक सञ्जालमा हर्क साम्पाङ र सरकारी संयन्त्रबिचको सम्बन्धमा प्रश्न उठ्न थालेको छ। यता, मेयर साम्पाङको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन।

Exit mobile version