KATHMANDU DAINIK

फिफा वरीयतामा नेपाल फेरि एक पाइला पछाडि: लाओससँगको हार र हङकङसँग बराबरी

नेपाली फुटबल टिम

काठमाडौं, असार २७ –अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको स्थान फेरि एक पंक्ति पछाडि गएको छ। पछिल्लो समय खेलेको दुई अन्तर्राष्ट्रिय खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली टोली अब १७६औं स्थानमा पुगेको छ जुन अघिल्लो महिना भन्दा एक स्थान तल हो।

यसपटकको फिफा वरीयतामा नेपालले १ स्थान गुमाउनुका पछाडि दुईवटा प्रमुख कारण छन्। पहिलो जुन महिनामा हङकङसँग खेलेको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी र दोस्रो, एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँगको हार। यी दुवै खेलले नेपालको वरीयतामा नकारात्मक असर पारेको छ।

नेपालले जुन २०२५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्दा तीब्र आक्रमण र गोल गर्ने क्षमता देखाउन सकेन। खेलभर प्रयास गरे पनि नेपालले गोलको अवसर गुमायो र अन्तत खेल गोलरहित बराबरीमा टुंगियो। यद्यपि हार नभएको यो खेलले वरीयतामा खासै फाइदा पुर्‍याउन सकेन।

त्यसपछि एएफसी एसियन कप छनोटको खेलमा नेपाल लाओससँग पराजित हुन पुग्यो। यस हारले सिधै नेपालको रैंकिङमा प्रभाव पारेको हो। फिफाले टिमको जित, हार, खेलको महत्त्व, विपक्षीको वरीयता र प्रतियोगिताको स्तर जस्ता सूचकांकका आधारमा अंक निर्धारण गर्छ। त्यसैले लाओसजस्तो तुलनात्मक रूपमा कमजोर टोलीसँगको हारले नेपाललाई धेरै अंक गुमाउनु पर्‍यो।

दक्षिण एसियामा नेपालको रैंकिङ घटे पनि अझैपनि केही देशहरू भन्दा अगाडि छ। तर प्रमुख प्रतिद्वन्द्वी भारतको पनि वरीयता खस्केको छ। भारत यसपटक ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ। माल्दिभ्स १७१औं स्थानमा छ। यसले साफ क्षेत्रका टिमहरूको समग्र प्रदर्शन सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।

नेपालभन्दा पछाडि रहेका बङ्गलादेश, श्रीलंका, पाकिस्तान, भुटान जस्ता देशहरू हालैका वर्षमा सुधारको क्रममै छन्। बङ्गलादेशको यु–१६ टोलीले एसीसी कप जितेपछि फुटबलमा पनि केही प्रगति देखिएको छ।

फिफा वरीयता कुनै पनि देशको फुटबल क्षमताको अन्तर्राष्ट्रिय मान्यता हो। यो रैंकिङले भविष्यमा हुने प्रतियोगितामा छनोट प्रक्रिया, समूह विभाजन, र आमन्त्रण पत्रहरूमा ठूलो प्रभाव पार्छ। जब कुनै देशको वरीयता घट्छ उसलाई मुख्य प्रतियोगिताहरूमा बलिया टिमहरूको समूहमा राखिने सम्भावना बढ्छ।

नेपालजस्तो देशले वरीयता बढाउन नियमित अन्तर्राष्ट्रिय खेल खेल्नुपर्छ। मैत्रीपूर्ण खेलहरू पनि रणनीतिक ढंगले खेल्नुपर्छ बलियो टिमसँग जित्ने सम्भावना भएन भने बराबरी वा जित सम्भव हुने टिमसँग खेल्नु उपयुक्त हुन्छ ।

वरियतामा पछाडि पर्नु कुनै एक खेल वा प्रशिक्षकको कमजोरी मात्रै होइन, यो समग्र रणनीतिक अभावको संकेत हो। नेपालले विगत दुई दशकमा यदाकदा उत्साहजनक नतिजा निकाल्दै आएको छ । साफ च्याम्पियनसिपको सेमिफाइनल, यु–२३ टोलीको प्रगति र क्लबस्तरमा एएफसी कपमा सहभागिता, तर यी उपलब्धिहरूलाई स्थायीत्वमा रुपान्तरण गर्न नसक्नु नै हाम्रो समस्या हो।

खेलाडी छनोटमा पारदर्शिता, प्रशिक्षक र व्यवस्थापनबीच सहकार्य, राम्रो सुविधा, मैत्रीपूर्ण खेलहरूमा निरन्तरता, र युवा विकास प्रणाली बलियो बनाउने रणनीति आवश्यक छ।

फिफा वरीयता घट्दा राष्ट्रिय टोलीका खेलाडीहरूको मनोबलमा पनि असर पर्छ। उनीहरू अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न चाहन्छन् तर निरन्तर वरीयता घट्दा आत्मविश्वास कमजोर पर्न सक्छ। साथै विदेशमा क्लब फुटबल खेल्ने चाहना राख्ने खेलाडीका लागि पनि वरीयता महत्त्वपूर्ण हुन्छ किनकि क्लबहरू देशको अन्तर्राष्ट्रिय स्तर हेरेर खेलाडी चयन गर्छन्।

नेपालको फुटबल हाल कठिन मोडमा छ। वरीयता फेरि घट्नु चिन्ताको विषय हो। तर यही समय सुधारको अवसर पनि हो। लाओससँगको हार र हङकङसँगको बराबरीले सिकाइ दिएको छ समयमै सुधार नगरे पुन अझै पछाडि परिनेछ।

Exit mobile version