KATHMANDU DAINIK

पशुपतिमा पुगेर एलिनाले गरिन विपिन जोशीको रिहाइको कामना

साउन २६, २०८२।

काठमाडौं – चर्चित गायिका एलिना चौहानले इजरायलमा बन्धक अवस्थामा रहेका कञ्चनपुरका कृषिविज्ञान विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइको कामना गर्दै सोमबार पशुपति मन्दिर पुगिन्।

त्यहाँ आयोजित ‘संकटमोचन ज्ञान महायज्ञ’ कार्यक्रममा सहभागी भई उनले विपिनको फोटो राखिएको फ्रेम समातेर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखिन्, आज ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा संकटमोचन ज्ञान महायज्ञमा विपिन भाइ चाँडै भेटियोस् भनेर कामना गरियो। हामी सबैको मनोकामना पूर्ण होस्।

एलिनाले विदेशी भूमिमा बेपत्ता भएका अन्य नेपालीहरूको खोजीका लागि पनि सबैलाई आग्रह गरिन्। यस अवसरमा गायिका राधिका हमाल पनि साथमा थिइन्।

विपिन जोशी २०८० असोज २० गते ‘सिक्दै कमाउँदै” कार्यक्रमअन्तर्गत इजरायल पुगेका उनी इजरायलमा रहँदा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि बेपत्ता भएका थिए। उनका साथीहरूले विपिनलाई हमासले बन्धक बनाएको प्रमाणित बयान दिएका छन्। सो घटनामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।

विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान गर्दै

यसैबीच विपिनकी आमा र बहिनी सोमबार इजरायलतर्फ प्रस्थान गरिसकेका छन्। उनीहरूले इजरायली निकायसँग प्रत्यक्ष भेटेर छोराको अवस्थाबारे जानकारी लिने र उद्धारका लागि पहल गर्ने बताइएको छ।

यो घटनाले फेरि एकपटक विदेशमा रोजगारी र अध्ययनका लागि गएका नेपालीहरूको सुरक्षा, संकट व्यवस्थापन र सरकारी कूटनीतिक सक्रियताबारे गम्भीर प्रश्न उठाएको छ।

 

Exit mobile version