KATHMANDU DAINIK

खाडी मुलुक पठाउन लागेका ४० नेपाली महिला दलालको पासोबाट जोगिए

नेपाली महिला उद्धार, दिल्लीबाट उद्धार, खाडी मुलुक, घरेलु कामदार, मानव तस्करी नेपाल, नेपाली दूतावास दिल्ली, अवैध रोजगार, नेपाली महिला विदेश, नेपाल भारत सीमा तस्करी, नेपाली महिला दलाल

साउन २२, २०८२।

काठमाडौं – भारतको दिल्ली हुँदै खाडी मुलुक पठाइन लागेका ४० जना नेपाली महिलालाई उद्धार गरिएको छ। नेपाली दूतावास र भारतीय प्रहरीले संयुक्त अपरेशन गर्दै दिल्लीको महिपालपुरस्थित विभिन्न होटलहरूबाट उनीहरूलाई उद्धार गरेका हुन्।

यी महिलाहरूलाई घरेलु कामदारका रूपमा कुवेत, ओमान, दुबई र साउदी अरेबिया पठाउने तयारी भइरहेको बेला उद्धार गरिएको हो। उद्धारपछि सबै महिलालाई स्थलमार्ग हुँदै नेपाल फर्काइएको छ।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर तथा नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लका अनुसार दलालहरूले महिलाहरूलाई आकर्षक तलब र सुविधा देखाएर झुक्याइ खाडी मुलुक पुर्‍याउन लागेको पुष्टि भएको छ। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पठाउन नसकिएपछि भारतको विभिन्न विमानस्थल प्रयोग गरी विदेश पठाउने योजना बनाइएको थियो।

दूतावासको समन्वयमा गरिएको अपरेशनमा ६३ जना महिलाहरू महिपालपुरबाट निकालिएका थिए। तीमध्ये २३ जनासँग युरोप यात्रा गर्न आवश्यक कागजात भएकाले उनीहरूलाई नछोडिएको हो। बाँकी ४० जना भने दलालको पासोमा परेका थिए। उद्धार गरिएकामध्ये ३१ जना कुवेत, ४ जना ओमान, ४ जना दुबई र १ जना साउदी अरब जान लागेका थिए।

उनीहरू नेपालका २४ वटा जिल्लाबाट ल्याइएका थिए। दिल्लीस्थित सामाजिक संस्था किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार यी महिलाहरूलाई आप्रवासन नियम उल्लंघन गर्दै गैरकानुनी तरिकाले विदेश पठाउन लागिएको थियो।

यसअघि पनि दिल्ली हुँदै भिसिट भिसामा खाडी जान लागेका ४७ नेपाली महिलाहरू साउन दोस्रो साता उद्धार गरिएका थिए। तिनको कागजात नक्कली देखिएपछि दिल्ली विमानस्थल अध्यागमनले रोकेको थियो।

नेपाल सरकारले घरेलु कामदारको रूपमा महिलाहरूलाई खाडी मुलुक जान रोक लगाएको छ। खाडी गएका महिला कामदारहरू असुरक्षित, शोषण र मानव बेचबिखनको चपेटामा परेको धेरै प्रमाण भेटिएका छन्। दलालहरूले यो प्रतिबन्धको बेवास्ता गर्दै भारतमार्ग प्रयोग गरेर महिलाहरूलाई विदेश पठाउने क्रम रोकिएको छैन।

दिल्लीमा गरिएको हालको उद्धारको घटनाले महिलाहरूलाई अवैध रूपमा विदेश पठाउने गिरोह अझै सक्रिय छन् भन्ने प्रष्ट देखिएको छ ।

Exit mobile version