असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता
काठमाडौं – डिजिआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको छ। टि–१० ढाँचामा आयोजना हुने यो प्रतियोगिता असोज १५ गतेदेखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी मैदानमा हुनेछ।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत एनएसपिएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिता सम्बन्धी जानकारी दिँदै यो लिगले नेपालमा क्रिकेटको जड तहबाटै विकास गर्न सहयोग गर्ने बताए। उनले ‘सडकदेखि स्टेडियमसम्म’ भन्ने नारासहित सुरु हुन लागेको लिगले देशभरका उदीयमान क्रिकेटरहरूलाई राष्ट्रिय स्तरमा प्रतिभा प्रदर्शन गर्न अवसर दिने बताए।
प्रतियोगितामा ७ टोलीको सहभागिता रहनेछ भने कुल २४ खेल खेलिनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ जसमा शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
एनएसपिएलमा सहभागी हुन इच्छुक फ्रेन्चाइज टोलीहरूले टिम खरिद गर्नुपर्नेछ भने खेलाडीहरू अक्सनमार्फत चयन गरिनेछन्। अक्सन प्रक्रिया पारदर्शी ढंगले सम्पन्न गरिने आयोजकको भनाइ छ। प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैयाँ तथा उपविजेता टोलीले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगितालाई प्रचारप्रसार र लोकप्रियता दिलाउन आयोजकले अभिनेता निखिल उप्रेतीलाई ब्रान्ड एम्बेसेडरको रूपमा नियुक्त गरेको छ। उप्रेतीले आफू एनएसपिएलजस्तो महत्वपूर्ण अभियानमा जोडिन पाएकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्।
एनएसपिएलले समावेशी खेल संस्कृतिको विकास, नव प्रतिभाको पहिचान, र समुदायस्तरको सहभागितालाई मुख्य प्राथमिकता दिने जनाएको छ। आयोजकले प्रतियोगिताका लागि मैदान व्यवस्थापन, खेल तालिका, खेलाडी दर्ता तथा अक्सन प्रक्रिया, सुरक्षाको सुनिश्चितता लगायत सबै तयारी तीव्र गतिमा भइरहेको जानकारी दिएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा क्रिकेटप्रतिको जनआकर्षण तीव्र रूपमा बढिरहेका बेला एनएसपिएलले देशको क्रिकेट संरचना र बजार विस्तारमा सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ। यस लिगमार्फत स्थानीय खेलाडीहरूलाई पेशागत क्रिकेटमा अगाडि बढ्ने अवसर मिल्ने विश्वास गरिएको छ।
टि–१० ढाँचाको खेल भएकाले खेल छोटो, तीव्र र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। यसले दर्शकहरूलाई मनोरञ्जन दिने मात्र नभई नव प्रतिभाहरूको खोजी र विकासमा पनि योगदान पुर्याउनेछ।
एनएसपिएल नेपालमा वैकल्पिक लिग संरचनाको सुरुआत हो भन्ने विश्वासका साथ आयोजकले यसको भविष्य अझ विस्तार गर्ने योजना बनाएको छ। पहिलो संस्करण सफल भएमा आगामी वर्षहरूमा यसलाई देशका अन्य सहरहरूमा समेत विस्तार गर्ने सोच रहेको आयोजकको बताएको छ ।