एसिसी यु-१६ एलिट कपमा नेपाली टोलीको दमदार प्रदर्शन
मलेसियामा जारी एसिसी मेन्स यु-१६ एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालको युवा क्रिकेट टोलीले जापानलाई ९ विकेटको सहज अन्तरले पराजित गर्दै दोस्रो खेलमा पनि अपराजित यात्रा कायम राखेको छ। बलिङ र ब्याटिङ दुबै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टिमले जित मात्रै हात पारेन, भविष्यको सम्भावनालाई समेत थप बलियो बनाएको छ ।
पहिलो इनिङ जापानको कमजोर सुरुवात नेपाली बलिङ अग्निपरीक्षा बनेको थियो । खेलको टस जापानले जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे तर उक्त निर्णय जापानी टोलीका लागि फलदायी हुन सकेन। नेपाली बलरहरूको उत्कृष्ट बलिङका सामु उनीहरूको ब्याटिङ लय सुरु देखिनै बिग्रीएको थियो । ३४.३ ओभरमा सबै विकेट गुमाउँदै जापान ८० रनमा समेटियो।
जापानका कप्तान चार्ली हाराहिन्जीले भने केही प्रतिरोध गरे। उनले ४८ बलमा ४ चौका प्रहार गर्दै ३६ रन बनाए। अर्का ब्याटर गम्बी हाराहिन्जीले ३० बलमा १३ रन बनाए। ती बाहेक अन्य सबै ब्याटर दोहोरो अंकमा समेत रन बनाउन असफल रहे ।
नेपालका लागि बलिङतर्फ सबैभन्दा चम्किए बाँया हाते स्पिनर शुभम खनाल, जसले १० ओभरमा १५ रन खर्चिएर ५ विकेट लिँदै खेलको ‘प्लेयर अफ द म्याच’ बने। उनले एकपछि अर्को गरी जापानी ब्याटिङको मेरुदण्ड तोडिदिए। अन्य बलरहरूमा अभय यादवले २ विकेट लिँदा शुशिल रावल र विपिन शर्माले समान १-१ विकेट लिएका थिए ।
जवाफमा नेपालले ८१ रनको लक्ष्यलाई केवल १४.२ ओभरमा १ विकेटको क्षतिमा सहजै पूरा गर्न सफल भएको थियो ।ओपनर जोय थापा सुरुवातमै १ रनमा आउट भए तापनि त्यसपछि शिवान्श बजगाईं र प्रसिद्ध जैसीले खेल सम्हाल्दै नेपालको जित सुनिश्चित गरे।
शिवान्शले ७ चौका प्रहार गर्दै ३८ रन बनाए। अघिल्लो खेलका ‘प्लेयर अफ द म्याच’ प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे। उनीहरूको संयमी र आक्रमणकारी ब्याटिङले नेपाललाई सजिलै जितसम्म पुर्याउन सफल भयो ।
नेपालको यो दोस्रो खेलमा दोस्रो जित हो। यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको थियो। दुई खेलबाट ४ अंक हासिल गर्दै नेपाल समूह ‘ए’ मा शीर्ष स्थानमा रहेको छ। जापानको लागि यो पहिलो हार हो जसले पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो।
एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा भइरहेको प्रतियोगितामा १० टोली सहभागी छन्। सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’:
नेपाल
सिंगापुर
इन्डोनेसिया
भुटान
जापान
समूह ‘बी’:
मलेसिया (आयोजक)
हङकङ
माल्दिभ्स
थाइल्याण्ड
म्यानमार
प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल ५ जुलाई २०२५ (असार २१ गते) हुनेछ। नेपालले यसअघि आयोजित तीनवटै यु-१६ एलिट कपमा उपाधि जितेको इतिहास बनाइसकेको छ, र यस पटक पनि चौंथो उपाधि तर्फ दृढ रूपमा एकपछि अर्को जितको यात्रा गरिरहेको छ ।
नेपालको आगामी खेल इन्डोनेसियासँग आइतवार हुनेछ। त्यसपछि समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा हुनेछ। यी दुबै खेल नेपालका लागि सेमिफाइनल पुग्न निर्णायक हुनसक्छन्। यद्यपि अहिलेको फर्म हेर्दा नेपाल पहिलो दावेदार बनेको स्पष्ट देखिन्छ ।
नेपालको टोलीमा युवा उमेरमै भरपर्दो प्रदर्शन गर्न सक्ने खेलाडीहरूको संख्या बढ्दो छ। यस खेलमा चम्किएका शुभम खनाल, प्रसिद्ध जैसी, र शिवान्श बजगाईं भविष्यमा सिनियर राष्ट्रिय टोलीका सम्भावित स्टार बन्न सक्ने संकेत दिइरहेका छन्।
शुभम खनालको स्पिन बलिङमा विविधता, संयमता र आक्रमणको मिश्रण देखियो, जसले विपक्षी टोलीलाई दवावमा राख्न सफल भयो भने उता ब्याटिङमा प्रसिद्ध र शिवान्शले टिकाउपन र आक्रमकता दुवै दर्शाए।
नेपाली यु-१६ टिमको सफलता पछाडि कोचिङ टिम र व्यवस्थापनको योगदान उल्लेखनीय छ। युवा खेलाडीहरूलाई मनोबल उच्च राख्दै रणनीतिक रूपमा अघि बढाउने कार्य सफल भएको देखिन्छ। अनुशासन, अभ्यास, र योजनाको समायोजनले नै नेपाललाई बलियो टोली बनाएको हो।
नेपालले जापानमाथि प्राप्त गरेको यो ९ विकेटको सहज जित केवल एक जित मात्र होइन, युवा क्रिकेटमा विश्वास, लगानी र योजनाको जीत पनि हो। युवा टोलीको प्रदर्शनले नेपाली खेलकुदप्रेमीलाई गर्व गर्ने मौका दिएको छ। आगामी खेलहरूमा पनि यस्तै प्रदर्शन कायम गर्न सके नेपालले पुनः यु-१६ च्याम्पियनको उपाधि हात पार्ने सम्भावना बलियो देखिएको छ।