नेपाल नाकामा कोरोना देखियो
असार महिनाको सुरूवातसँगै बिरगन्ज नाकाबाट फेरि कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाचारले चिन्ता बढाएको छ। हेल्थ डेस्कमा परीक्षण गर्दा भारतबाट नेपाल प्रवेश गर्न लागेका दुई व्यक्तिमा कोरोना पोजिटिभ देखिएको पुष्टि भएपछि यो सीमावर्ती क्षेत्र फेरि संवेदनशील बन्न पुगेको छ।
वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार संक्रमण देखिएका दुबै व्यक्ति भारतको बिहार राज्यको मोतीहारी र छौडादानोका हुन्। तीमध्ये एक जन्तीमा सहभागी भएर आएका थिए भने अर्का रोजगारीको लागि बर्दिबास जान लागेका थिए।
तर सबैभन्दा गम्भीर सवाल भनेको हामी तयार थियौं त? भन्ने हो।
कोरोना महामारीको सुरुवातताका सबैभन्दा संवेदनशील र सक्रिय नाका मानिएको वीरगन्जको हेल्थ डेस्कमा पछिल्ला १६ महिनासम्म परीक्षणका लागि आवश्यक ‘किट’ नै थिएनन्। २०८० माघ २५ पछि परीक्षण पूर्णरूपमा ठप्प भएको थियो।
असार १ गतेमात्र काठमाडौँस्थित सरुवा रोग महाशाखाबाट २० वटा परीक्षण किट पठाइएको थियो। ती किटबाट संकास्पद र ज्वरो-रुघाखोकी भएका २० जनाको परीक्षण गरिए पनि त्यो संख्या सीमामा दैनिक आवतजावत गर्नेको तुलनामा अत्यन्त न्यून हो।
डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरू आफूलाई प्राप्त निर्देशनअनुसार मात्र परीक्षण गरिरहेको भए पनि स्रोतको सीमितताले ठूलो जोखिम निम्त्याएको छ।
हाल भारतमा कोरोनाको पाँचौँ लहर विस्तार भइरहेको पृष्ठभूमिमा नेपाल सरकार र सरोकारवाला निकायहरू अलमलमा देखिन्छन्। पछिल्ला दिनमा भारतका विभिन्न राज्यहरु जस्तै दिल्ली, कोलकाता, गाजियाबाद, बनारस लगायतका सहरहरूमा संक्रमण दर उकालो लागिरहेको छ।
वीरगन्जको सिमानामा रहेको भारतीय सहर रक्सौलबाट दिल्ली, मुम्बई, कोलकाता, लखनउ जस्ता प्रमुख सहरहरूसँग रेल सम्पर्क छ। त्यसैले भारतका ती सहरबाट फर्किने र नेपाल प्रवेश गर्ने भारतीय नागरिकमार्फत संक्रमण भित्रिने जोखिम उच्च रहेको बताइन्छ।
आउँदो साउनदेखि भारतको उडिसा, बंगाल, बिहार लगायत स्थानबाट धार्मिक प्रयोजनका लागि ठूलो संख्यामा तीर्थयात्रीहरू पशुपतिनाथ दर्शनका लागि नेपाल आउँछन्। विगतमा पनि यस्ता धार्मिक भीडमा कोरोना संक्रमण देखिएको थियो।
यस प्रकारका आवतजावतमा यदि उचित जाँच निगरानी र नियन्त्रणको व्यवस्था छैन भने स्थिति गम्भीर बन्न सक्छ।
नेपाल सरकारद्वारा प्रमुख स्थल नाकामा स्थापना गरिएको हेल्थ डेस्क २०७७–२०७८ को महामारीमा सशक्त उपकरण बनिएको थियो। तर समयसँगै चासो घट्दै जाँदा त्यसको प्रभावकारिता समाप्तजस्तै भएको छ।
वीरगन्ज हेल्थ डेस्कमा अहिलेसम्म स्थायी पूर्वाधार आवश्यक जनशक्ति र प्रविधि नहुनु यो समस्या दोहोरिन सक्ने खतराको संकेत हो। एउटा सीमामा १६ महिनासम्म परीक्षण नै नभएको देखाउँछ कि हाम्रो प्रणाली जोखिम चिह्नन र नियन्त्रण गर्न कत्तिको सक्षम छ भन्ने गम्भीर प्रश्न खडा खडा गरेको छ ।
२० वटा किट पठाएर काम सकियो भन्ने सरकारी धारणा चिन्ताजनक छ । यस्तो संवेदनशील नाकामा दैनिक हजारौंको आउजाउ हुँदाहुँदै परीक्षणको संख्या मात्र २० जनासम्म सीमित राख्नु संक्रमणको जोखिम बेवास्ता गर्नु हो।
किटको असहजता तालिम नपाएका कर्मचारी र स्वास्थ्य पूर्वाधारको कमजोरीले सीमामा चेकजाँचलाई औपचारिकतामा मात्र सीमित बनाइरहेको अवस्था छ।
पहिलो, दोस्रो, तेस्रो र चौथो लहरमा पनि भारतको अवस्था गम्भीर भएपछि नेपालमा १–२ साता ढिलो कोरोना फैलिएको थियो। यतिबेला पनि भारतमा दैनिक संक्रमण दर बढिरहेको अवस्थामा नेपाल अझै सचेत नहुनु नीतिगत कमजोरी हो।
यस पटक पनि लहर सुरु हुने संकेतसहित संक्रमण पुष्टि भइसकेको छ। तर स्वास्थ्य मन्त्रालयदेखि गृह मन्त्रालयसम्म जोखिम नियन्त्रणमा स्पष्ट र संयोजित योजना देखिएको छैन।
हेल्थ डेस्क पुन सक्रिय वीरगन्जसहित सबै प्रमुख स्थल नाकामा हेल्थ डेस्कलाई किट, उपकरण र जनशक्तिले भरपूर बनाइनु आवश्यक छ।
भिजिट भिसा र धार्मिक पर्यटकको निगरानी भारतबाट आउने पर्यटक, तीर्थयात्री र जन्तीको स्वास्थ्य परीक्षण अनिवार्य गरिनु पर्छ ।
तीन वर्षको अन्तरालपछि फेरि सीमाबाट संक्रमण देखिनु आफैँमा चेतावनी हो। यो केवल दुईजना पोजिटिभ भन्ने सामान्य खबर होइन यो आगामी लहरको संकेत हो। यदि सरकार, स्थानीय प्रशासन, स्वास्थ्य निकायहरू, र नागरिक तहबाट तत्काल सतर्कता अपनाउन सकेन भने अर्को लहरको सुरूवात सीमाबाट हुने निश्चित छ।
बढ्दो संक्रमणको लहरको पूर्वसावधानी स्वरूप हेल्थ डेस्कको भूमिका सीमामा निगरानी र परीक्षण क्षमता बलियो बनाइनु अब विलम्ब नगरी गर्नुपर्ने प्राथमिकता हो।
अर्को संक्रमण चक्र सुरु हुनु अगाडि फेरि एक पटक हामीले समयमै चनाखो हुन सकेनौँ भने महामारीको अर्को पीडा फेरि ब्युँतिन सक्छ।