KATHMANDU DAINIK

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल हुँदै

 

Nepal vs Bangladesh football

असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता

 

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी सेप्टेम्बर ६ र ९ भदौ २० र २३ मा दशरथ रंगशालामा बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार यो जानकारी सार्वजनिक गर्दै उक्त खेलहरू ‘फिफा अन्तर्राष्ट्रिय म्याच विन्डो’ अन्तर्गत पर्ने जनाएको छ।

यी खेलहरू नेपाली फुटबलका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। विशेषत एएफसी एसियन कप छनोटको तयारी सन्दर्भमा एन्फाका अनुसार यस्ता उच्चस्तरीय मैत्रीपूर्ण खेलहरूबाट टोलीले आगामी ठूला प्रतियोगिताका लागि आवश्यक अनुभव र रणनीतिक अभ्यास गर्ने मौका पाउनेछ ।

एसियन कप २०२७ को छनोटको समूह ‘एफ’ मा रहेको नेपालले हालसम्म मलेसिया र लाओसविरुद्ध खेलेको दुई खेलमा पराजय बेहोरेको छ। यसले टोलीमा मनोबल गिराएको भन्दै पुनःउर्जाको आवश्यकता महसुस गरिएको थियो।
यसै सन्दर्भमा बंगलादेशसँगको दुई खेल नेपाली टोलीको आत्मविश्वास पुनःस्थापित गर्ने अवसरको रूपमा हेरिएको छ।

नेपालको अर्को छनोट खेल अक्टोबर ९ मा भियतनामको मैदानमा हुनेछ। त्यसअघि बंगलादेशसँग मैत्रीपूर्ण खेलमार्फत रणनीति परिमार्जन र नयाँ खेलाडी परीक्षण गर्ने योजना बनाइएको छ। मुख्य प्रशिक्षक प्रभाकर पराजुलीका अनुसार यी दुई खेल हाम्रो लागि प्रतिस्पर्धा मात्रै नभएर पुनर्गठन र अभ्यासको राम्रो प्लेटफर्म हुनेछ।

नेपालले लामो समयपछि आफ्नै घरेलु रंगशालामा फिफा मान्यता प्राप्त दुई खेल खेल्न लागेको हो। दशरथ रंगशालाको वातावरण, नेपाली समर्थकहरूको चर्को हुटिङ् र घरेलु मैदानको अनुभव नेपालका लागि सकारात्मक पक्ष हुनेछ। समर्थकहरू पनि उत्साहित देखिएका छन्। सामाजिक सञ्जालमा खेलप्रति व्यापक चासो देखिएको छ।

पछिल्लोपटक २०२३ को मार्चमा नेपालले घरेलु रंगशालामा भुटानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसपछिका अधिकांश खेल विदेशमै भएक थिए। त्यसैले यो अवसर नेपाली फुटबल प्रेमीका लागि पनि विशेष हुनेछ।

नेपाल र बंगलादेशबीचको फुटबल प्रतिष्पर्धा ऐतिहासिक रूपमा रोमाञ्चक रहँदै आएको छ। पछिल्लोपटक दुवै टोलीले सन् २०२३ मा बंगलादेशको ढाकामा खेल खेलेका थिए जसमा बंगलादेश विजयी भएको थियो। त्यसपछि नेपालले टोलीमा केही नयाँ अनुहारहरू समावेश गर्दै पुनःसंरचना गरेको थियो। यसपटक नेपाल घरेलु मैदानमा बदला लिन चाहन्छ।

बंगलादेशले पनि आफ्नो टोलीमा युवा र अनुभवी खेलाडीहरूको संयोजन गर्दै नेपालविरुद्धको खेललाई गम्भीर रूपमा लिएको छ। बंगलादेश फुटबल महासंघ (BFF) ले समेत काठमाडौंबाट मैत्रीपूर्ण खेलको पुष्टि गरिसकेको छ।

एन्फाले दुबै खेलका लागि टिकट व्यवस्थापन, सुरक्षा, प्रचार–प्रसार लगायत तयारी कार्य तीव्र बनाएको जनाएको छ। डिजिटल टिकटिङ् प्रणालीमार्फत बिक्री गर्ने तयारी भइरहेको छ, जसले भीड नियन्त्रण र सहज पहुँचमा सघाउने अपेक्षा गरिएको छ।

दशरथ रंगशालामा करिब १५ हजार दर्शक अटाउने क्षमता छ। अफलाइन र अनलाइन दुवै माध्यमबाट टिकट उपलब्ध गराउने योजना बनाइएको छ। साथै राष्ट्रिय टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने सम्भावना छ।

मुख्य प्रशिक्षक प्रभाकर पराजुलीले भने हामी पछिल्लो दुई खेलको हारबाट गम्भीर छौं। अब हाम्रो ध्यान टिमको आत्मबल उच्च राख्दै उत्कृष्ट प्रदर्शन गर्नेमा केन्द्रित छ। बंगलादेशजस्तो प्रतिद्वन्द्वी विरुद्ध खेल्न पाउनु गौरवको विषय हो।

कप्तान अनन्त तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, घरमै हजारौं समर्थकबीच खेल्ने मौका पाउनु उत्साहजनक छ। हामी जितका लागि सम्पूर्ण तयारी गर्नेछौं ।

मैत्रीपूर्ण खेलअघि नेपालले दुई हप्ता लामो बन्द प्रशिक्षण गर्ने योजना बनाएको छ। प्रशिक्षक टिमले केही युवा खेलाडीहरूलाई ट्रायलमा ल्याउने र फिटनेस परीक्षण गर्नेछ। विदेशी क्लबमा खेलिरहेका केही नेपाली खेलाडीहरूलाई पनि समावेश गर्ने प्रयास भइरहेको छ।

त्यस्तै बंगलादेश टोली पनि खेलअघि काठमाडौंबाटै अभ्यास गर्नेछ। वातावरणसँग परिचित हुन समय लाग्ने भएकाले उनीहरू सेप्टेम्बरको पहिलो साता नेपाल आउनेछन्।

बंगलादेशसँगको मैत्रीपूर्ण खेल नेपाली फुटबलको दिशा परिवर्तन गर्ने अवसर हो। पछिल्ला असफलताहरूलाई सुधार गर्दै नयाँ रणनीति र उर्जा ल्याउने अवसर नेपाली टोलीले पाएको छ। यस्ता खेलहरूले टिमको आत्मबल बढाउँछ र राष्ट्रिय फुटबलको सामूहिक भावना पनि बलियो बनाउँछ।

Exit mobile version