KATHMANDU DAINIK

तीन पटकको च्याम्पियन नेपाल, जापानसँग भिड्दै, चौथो यात्राको खोजीमा

नेपाली यु–१६ को अर्को लक्ष्य : जापान

काठमाडौं, असार ९, २०८२

क्रिकेट अब केवल एक खेल मात्रै रहेन। यो अब मुलुकको छवि, युवाको जोश र भविष्यको सम्भावना बनिसकेको छ। यही सन्देश बोकेर नेपाली यु-१६ क्रिकेट टोली मलेसियामा जारी एसिसी यु-१६ इस्ट जोन कप २०२५ मा मैदानमा उत्रिएको छ। पहिलो खेलमा आत्मविश्वासपूर्ण जीत हासिल गरेपछि अब नेपाल दोस्रो खेलमा जापानसँग भिड्न तयारी अवस्थामा छ।

नेपाल र जापानबीचको यो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभरल मैदानमा हुनेछ, जुन नेपाली समय अनुसार बिहान ७:४५ बजे सुरु हुनेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई हराउँदै सानदार शुरूवात गरिसकेको छ। त्यो जितले नेपाली टोलीमा उर्जा मात्र थपेको छैन, यु-१६ स्तरका खेलाडीहरूको क्षमता र मनोबल पनि सार्वजनिक रूपमा देखाएको छ। अर्कातर्फ जापानले भुटानलाई पराजित गर्दै आफ्नो जीत यात्रा सुरु गरिसकेको छ।

अब यी दुई विजेता टोलीहरू आमने–सामने भिड्दै छन्। यस भिडन्तलाई समूह ‘ए’ को निर्णायक खेलमध्येको एक मानिएको छ।

नेपालको समूह ‘ए’

नेपाली टोली समूह ‘ए’ मा रहेको छ, जसमा निम्न राष्ट्रहरू छन् नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान, जापान

त्यस्तै, समूह ‘बी’ मा रहेका छन्:
आयोजक मलेसिया, हङकङ, थाइल्याण्ड, माल्दिभ्स, र म्यानमार रहेका छन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

नेपालले प्रतियोगिताको तेस्रो खेल आइतवार इन्डोनेसियासँग खेल्नेछ भने अन्तिम खेलमा भुटानसँग भिड्नेछ। यी खेलहरू नेपालका लागि निर्णायक हुनेछन् किनभने सेमिफाइनलमा पुग्न हरेक अंक महत्वपूर्ण हुनेछ ।

नेपाल यस प्रतियोगिताको तीनवटा अघिल्ला संस्करणको च्याम्पियन हो। नेपाली क्रिकेटले यस्ता प्रतियोगितामार्फत विश्वलाई बारम्बार देखाइरहेको छ कि नेपालमा प्रतिभाको कुनै कमी छैन, केवल अवसर र संरचनाको खाँचो छ।

यो संस्करण नेपालको लागि केवल उपाधिको पुन प्राप्ति मात्र नभई आगामी क्रिकेट आउने पुस्तालाई विश्व रंगमञ्चमा पुर्याउने माध्यम समेत हो ।

नेपाल यु-१६ टोलीको नेतृत्व विपिनप्रसाद शर्मा ले गरेका छन् भने उपकप्तानको भूमिका सुर्याशुं कोइरालाले सम्हालेका छन्।बाँकी टोली निम्नानुसार छ।

परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा, रोशन शाही

यी खेलाडीहरू आजको दिनमा नामभन्दा पनि धेरै नेपाली खेल जगतका भावी सम्भावनाका पात्रहरू हुन्।

क्रिकेट आफ्नो परम्परागत खेल नभएको जापानले पनि पछिल्ला वर्षहरूमा क्रिकेटमा खास ध्यान दिइरहेको छ। भुटानलाई हराउँदै उभिएको जापानको यु-१६ टोली पनि बलियो छ र आक्रामक शैलीमा उत्रने सम्भावना पनि उत्तिकै रहेकोे छ।

नेपालका लागि यो खेल केवल जापानलाई हराउने सवाल मात्र होइन, तर सन्तुलित रणनीति, उत्कृष्ट फील्डिङ र स्थिर ब्याटिङ प्रस्तुत गर्ने अवसर हो।

पहिलो खेलमा नेपाली टोलीले टस जितेर बलिङ रोजेको थियो। उत्कृष्ट बलिङ प्रदर्शनले सिंगापुरलाई सस्तो स्कोरमा रोक्न सक्यो। बलरहरू सटीक थिए भने ब्याट्सम्यानले धैर्य देखाउँदै लक्ष्य सहजै पार गरे। यही लय भोलिको खेलमा निरन्तरता पाउन सकेमा सेमिफाइनल प्रवेशको ढोका सजिलै खुल्नेछ।

यस्तो प्रतियोगितामा केवल भावना र जोशले मात्र सफलता दिंदैन रणनीति र अनुशासन आवश्यक हुन्छ। कप्तान विपिनप्रसादको कप्तानी, प्रशिक्षक टिमको तयारी, र सम्पूर्ण व्यवस्थापनको योजना अब यस खेलमा देखिनु पर्नेछ ।

आज यु-१६ मा चम्किएको नाम, भोलि सीनियर राष्ट्रिय टिममा चम्कन सक्छ। कुनै दिन सन्दीप लामिछाने पनि उमेर समूहको प्रतियोगितामार्फतै निखारिएका थिए। अहिलेका कप्तान रोहित पौडेल पनि, त्यसैले यो प्रतियोगिता केवल आजको जित वा हार होइन भोलिको नेपाली क्रिकेट निर्माण गर्ने महत्त्वपूर्ण यात्रा हो ।

भोलिको हुने नेपाल–जापान भिडन्त केवल दुई राष्ट्रबीचको प्रतिस्पर्धा होइन यो युवा सपनाहरूको साकार पार्ने अवसर हो। नेपालले आफ्नो पहिचान तीनपटक सावित गरिसकेको छ, अब चौथो पटक त्यसलाई निखार्ने जिम्मेवारी यिनै १४ जना युवाको काँधमा छ।

 

 

तपाईंको चासो, गुनासो र प्रतिक्रिया हामीसंग साझा गर्नुहोस् ।

काठमाडौं दैनिक: सहकर्मी उपसना पौडेल kathmandudainik.newsdesk@gmail.com

 

 

Exit mobile version