KATHMANDU DAINIK

काभा च्याम्पियन्स लिगमा उपाधि लक्ष्यसहित हेल्प नेपाल स्पोर्ट्स क्लब “माल्दिभ्स” प्रस्थान

काठमाडौँ, असार २९ — नेपाल भलिबल लिगको च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब काभा मेन्स च्याम्पियन्स लिगको उपाधि यात्रामा होमिएको छ। माल्दिभ्सको राजधानी मालेमा जुलाई १७ देखि २३ तारिखसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय लिगमा हेल्प नेपालले नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ।

क्लबले पाकिस्तानका दुई खेलाडी उस्मान र मोहम्मद आसिफ नाभिदसहित, नेपाल भित्रका विभिन्न विभागीय क्लबहरूबाट उत्कृष्ट खेलाडी अनुबन्ध गरेर बलियो टोली निर्माण गरेको छ। पोखरामा सम्पन्न एनभिए राष्ट्रिय क्लब लिगको उपाधि जितेर काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हेल्प नेपाल अब अन्तर्राष्ट्रिय उपाधिका लागि होमिएको हो।

शनिबार आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघले टोलीलाई औपचारिक रूपमा बिदाइ गर्‍यो। कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङ, संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, बोर्ड सदस्य जगत धामीलगायत उपस्थित थिए। सदस्य सचिव घिसिङले टोलीलाई शुभकामना दिँदै सफलताको अपेक्षा गरे।

टोलीको प्रशिक्षणको जिम्मा उत्सव खड्काले लिएका छन् भने सहायक प्रशिक्षकमा सुजन केसी र राजनकुमार उपाध्याय छन्। टिम म्यानेजरमा झम्कनारायण श्रेष्ठ रहेका छन्।

टोलीमा रहेका प्रमुख खेलाडीहरूमा सुवास कुँवर (कप्तान), रविन चन्द, रविन नगरकोटी, सफल विक, विनोदबहादुर चन्द, मनीष मानन्धर, यामबहादुर भण्डारी, सन्तोष राई, विष्णुबहादुर क्षेत्री, चिरञ्जिवी खड्का लगायत छन्। नेपाल प्रहरी, एपीएफ जस्ता विभागीय क्लबबाट समेत खेलाडी ल्याएर टोलीलाई सशक्त बनाइएको क्लबको दाबी छ।

श्रीलंका, माल्दिभ्स, कजाखस्तान र किर्गिस्तानबाट आएका लिग च्याम्पियन क्लबहरूसँग प्रतिस्पर्धा गर्दै हेल्प नेपालले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चम्काउने लक्ष्य लिएको छ।

नेपाली रेफ्री विकास गुरुङले यस प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन्। पर्याप्त तयारीको कमी भए तापनि बलियो टोलीले उत्साहजनक प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।

Exit mobile version