KATHMANDU DAINIK

उपनिर्वाचनमा “कम्ब्याक” गर्ने दाउमा बालकृष्ण खाँण,के सम्भव छ?

उपनिर्वाचनमा “कम्ब्याक” गर्ने दाउमा बालकृष्ण खाँण, सजिलो छैन बाटो

असार १८, २०८२ ।  उपसना पौडेल

बुटवल- कुनै समय नेपाली कांग्रेसभित्र सशक्त र प्रभावशाली नेताका रूपमा चिनिएका बालकृष्ण खाँण फेरि राजनीतिमा फर्कने योजनामा छन्। भुटानी शरणार्थी काण्डपछि ओझेलमा परेका खाँणले रूपन्देही ३ बाट कात्तिक १७ गते हुने उपनिर्वाचनमार्फत आफ्नो राजनीतिक पुनरागमनको तयारी थालेका छन्।

भूतपूर्व गृहमन्त्री समेत रहेका खाँण पार्टीभित्र भविष्यका सभापतिका रूपमा हेरिने गर्थे। तर भुटानी शरणार्थी काण्डमा नाम जोडिएपछि सात महिना जेलमा बसेका उनी अहिले ‘गुमनाम’जस्तै छन्। २०८० मंसिर २८ मा ३० लाख धरौटीमा रिहा भएका उनी फेरि सक्रिय राजनीतिमा फर्किन चाहन्छन्।

रूपन्देही ३ मा उनको उम्मेदवारीको चर्चा तीव्र रहेको बेला स्थानीय राजनीतिक कार्यक्रममा सहभागिता बढाउँदै उनले आफ्नो उपस्थिति जनाएका छन्। तर उनलाई सहज बाटो भने देखिँदैन।

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवारी दिएका खाँण राप्रपाका दीपक बोहोरासँग २,६८१ मतले पराजित भएका थिए। खाँणले ३४,०३६ मत पाए भने बोहोराले ३६,७१७। त्यही बोहोराको निधनपछि अहिले उपनिर्वाचन हुँदैछ।

राप्रपाले बोहोराको राजनीतिक विरासत जोगाउने रणनीति बनाउँदैछ। अर्कोतर्फ खाँण आफ्नो पुनरागमनका लागि एमालेसँगको समन्वयको प्रयास गरिरहेको स्रोतको दाबी छ।

कांग्रेसभित्र खाँणको पुनरागमनप्रति एकमत छैन। कारागार बसाइपछि पनि भुटानी शरणार्थी प्रकरणको मुद्दा टुंगिएको छैन। कांग्रेस कार्यकर्ताहरूको भनाइ छ पहिला मुद्दाको टुंगो लागोस् अनि मात्रै हामी चुनावमा साथ दिन सक्छौं।

अर्को विवादस्पद विषय भनेको खाँणको परिवारवाद हो। श्रीमती मञ्जु खाँणलाई समानुपातिक सूचीबाट सांसद बनाएको भाइलाई जिल्ला सभापति बनाएको भन्दै आलोचना हुँदै आएको छ।

कुनै समय देउवा समूहमा बलियो मानिएका खाँण अहिले शेखर समूहतिर नजिकिएको चर्चा छ। तर देउवा समूह खाँणलाई फेरि अघि सार्ने योजनामा रहेको स्रोत बताउँछ।

देउवाले एमालेसँग मिलेरै भए पनि खाँणलाई संसद् पुर्याउने सोचमा छन् स्रोत भन्छ। तर त्यसका लागि खाँणले संस्थापन गुटमा स्पष्ट रूपमा उभिनुपर्ने शर्त राखिएको छ।

२०३३ देखि कांग्रेस राजनीतिमा लागेका खाँण २०४४ मा नेविसंघ अध्यक्ष, २०४८ मा सांसद, र पछि रक्षा, सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका नेता हुन्।
यो पृष्ठभूमिले उनलाई बलियो बनाउँछ। तर वर्तमान परिस्थितिमा त्यो इतिहासले मात्रै पुग्दैन।

कांग्रेसबाट प्रमोद यादव, भरत शाह र अनिता ढुंगानाको नाम पनि चर्चामा छन्। रूपन्देही–३ मा १ लाख ३९ हजारभन्दा बढी मतदाता छन्। स्थानीय तहमा कांग्रेस गठबन्धन बलियो देखिए पनि संघीय चुनावमा परिदृश्य फरक हुन सक्छ।

२०७९ को समानुपातिक मत हेर्दा कांग्रेसले २० हजार २७८ मत पाएको थियो, एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४, राप्रपाले ९ हजार १८३, अन्य दलहरूको मत पनि प्रभावकारी थियो।

रास्वपाका सभापति रवि लामिछाने भैरहवा कारागारमा रहँदा हुने उपनिर्वाचनले पनि राजनीतिक तरंग ल्याउन सक्छ। रास्वपाले पनि प्रभावशाली उम्मेदवार उठाउने संकेत गरिसकेको छ।

खाँणको राजनीतिक पुनरागमन सम्भव छ ?

मुद्दाको टुंगो, गुटगत समर्थन, स्थानीय जनताको सन्देह र प्रतिस्पर्धी उम्मेदवारहरूको हाबी असरले उनलाई कडा चुनौती दिन सक्छ। त्यसैले रूपन्देही ३ को उपनिर्वाचन नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा शक्ति सन्तुलन र विश्वासको परिक्षा समेत हो।

 

 

Exit mobile version