KATHMANDU DAINIK

उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाली महिला एसियन कपको यात्रा टुंगियो

उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै एएफसी महिला एसियन कपको यात्रा टुंगियो

असार २१, २०८२ काठमाडौं दैनिक संवाददाता

नेपालको महिला फुटबल टोली एएफसी महिला एसियन कप २०२६ को छनोटबाट बाहिरिएको छ। शनिबार राति उज्बेकिस्तानसँग भएको निर्णायक खेलमा टाइब्रेकरमा ४-२ को हार बेहोरेसँगै नेपालको सपनाको यात्रा टुंगिएको हो।

खेलको सुरुआतमै उज्बेकिस्तान आक्रामक देखियो।
खेलको दोस्रो मिनेटमै उज्बेकिस्तानले पहिलो गोल गर्दै नेपाललाई दबाबमा राख्यो। ११औं मिनेटमा अर्को गोल थप्दै उज्बेकिस्तानले अग्रता दोब्बर पार्‍यो। उक्त गोल उज्बेक कप्तानको प्रयासबाट समीक्षा घिमिरेको खुट्टामा लागेर आफ्नै पोस्टमा गएको थियो।

२४औं मिनेटमा नेपालकी फरवार्ड कप्तान साबित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै अन्तर घटाइन् र नेपाललाई खेलमा फर्काउने प्रयास गरिन्। तर ३९औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै फेरि दुई गोलको अग्रता बनायो।

पहिलो हाफको अन्त्यतिर उज्बेक खेलाडी एन. एर्गासेभाले दोहोरो पहेंलो कार्ड पाउँदा रातो कार्ड देखाईन् र मैदानबाट बाहिरिइन्। त्यसपछि उज्बेकिस्तान १० खेलाडीमा सीमित भयो, जसले नेपालको पक्षमा खेल फिर्त्याउने सम्भावना बलियो बनायो।

नेपालले पहिलो हाफमै एक खेलाडी परिवर्तन गर्दै डिफेन्डर निशा थोकरको स्थानमा प्रीति राईलाई मैदानमा उतारेको थियो।

दोस्रो हाफमा नेपालले निकै आक्रामक प्रदर्शन गर्‍यो। सावित्रा भण्डारीले ७०औं र ७१औं मिनेटमा लगातार दुई गोल गर्दै नेपाललाई ३-३ को रोमाञ्चक बराबरीमा ल्याइन्।
उक्त प्रदर्शनले नेपाली दर्शक र समर्थकलाई उत्साहित बनाएको थियो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा प्रवेश गर्‍यो । नेपालका तर्फबाट गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलकिपरले बचाइन् भने साम्बाको प्रहार बारमा लागेर बाहिरियो। उज्बेकिस्तानका खेलाडीले चार पेनाल्टी गोल गर्दै ४-२ को जित हासिल गरे।

नेपालले अन्तिम खेलसम्म आशा बोकेको थियो, तर अन्ततः टाइब्रेकरको दबाबले टोलीलाई पछाडि धकेल्यो। उज्बेकिस्तान भने समूह एफबाट एएफसी महिला एसियन कप २०२६ का लागि छनोट हुन सफल भयो।

यद्यपि नेपालको टोलीले जुन जोश, आत्मविश्वास र टोली भावना देखायो, त्यसले भविष्यमा अझ बलियो टिम निर्माणको आशा जगाएको छ। सावित्रा भण्डारीको ह्याट्रिक प्रदर्शन, कप्तान र डिफेन्डरहरूको समर्पण र दोस्रो हाफको उत्कृष्ट पुनरागमन प्रशंसनीय रह्यो।

नेपालका लागि यो पराजय दु:खद त अवश्य हो, तर टिमले देखाएको प्रदर्शन र समर्पणले नेपालीको भविष्य उज्ज्वल देखाएको छ।

Exit mobile version