KATHMANDU DAINIK

इंग्ल्याण्ड फेरि युरोको फाइनलमा, इटालीविरुद्ध २–१ गोल

इंग्ल्याण्ड महिला फुटबल, युरो २०२५ फाइनल, इंग्ल्याण्ड बनाम इटाली, सारिना विगम्यान, मिचेल अजेमेंग गोल, क्लोइ केली, महिला युरो स्विजरल्याण्ड, UEFA Women's Euro Final 2025

एजेन्सी, साउन ७ – साविक विजेता इंग्ल्याण्डले युइएफए महिला युरो २०२५ को फाइनल यात्रा तय गरेको छ। सेमिफाइनलमा इटालीविरुद्ध नाटकीय पुनरागमन गर्दै अतिरिक्त समयमा २–१ को जित निकाल्दै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो।

स्विजरल्याण्डमा सम्पन्न सेमिफाइनल खेलमा इटालीले पहिलो हाफमा अग्रता लिए पनि इंग्ल्याण्डले अन्त्यसम्म लडेर अन्ततः जित दर्ता गर्‍यो। इटालीका लागि बारबरा बोनान्सियाले ३३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्।

तर, इंग्ल्याण्डले वैकल्पिक खेलाडीमार्फत पुनरागमन गर्‍यो। इन्जुरी समयको छैटौँ मिनेटमा १९ वर्षीया मिचेल अजेमेंगले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काइन्। उनले प्रतियोगितामा आफ्नो दोस्रो गोल गरिन् — दुवैपटक बेन्चबाट मैदान प्रवेश गरेर।

निर्णायक क्षण भने अतिरिक्त समयमा आयो। खेल सकिन एक मिनेट मात्र बाँकी हुँदा अर्को वैकल्पिक खेलाडी क्लोइ केलीले आफैंले हानेको पेनाल्टीमा गोलकिपरले रोकिदिएपछि रिबाउन्डमा बल जाली चुमाउँदै इंग्ल्याण्डको जित सुनिश्चित गरिन्।

यो जितसँगै प्रशिक्षक सारिना विगम्यानको टोली लगातार तेस्रो युरो फाइनलमा पुगेको हो। विगम्यानले प्रशिक्षकको रूपमा लगातार तेस्रो युरो उपाधि जित्ने लक्ष्य लिएकी छन्। उनले यसअघि पनि नेदरल्याण्ड्स र इंग्ल्याण्डलाई उपाधि दिलाइसकेकी छिन्।

फाइनल खेल आइतवार बासेलमा हुनेछ जहाँ इंग्ल्याण्डले स्पेन वा जर्मनीसँग उपाधिका लागि भिड्नेछ।

Exit mobile version