KATHMANDU DAINIK

३ वर्ष बित्दा पनि दुई किलोमिटर सडक नबनेपछि स्थानीय मर्कामा

३ वर्ष बित्दा पनि दुई किलोमिटर सडक नबनेपछि स्थानीय मर्कामा परेका छन् ।

पोखरा, कास्की, साउन १- राष्ट्रिय गौरवको आयोजनामध्ये एक मानिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा महानगरपालिका–१ को हरिचोकदेखि याम्दी खण्डको २.२ किलोमिटर लामो सडक निर्माण तीन वर्ष बितिसक्दा पनि अधुरै छ।

२०७९ साल साउनमा ठेक्का सम्झौता भई मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले काम सुरु गरे पनि निर्माणको गति अत्यन्तै सुस्त रहेको हो। निर्माणको जिम्मेवारी पाएको कम्पनीले हालसम्म ७० प्रतिशत भौतिक र ६६ प्रतिशत वित्तीय प्रगति मात्र गरेको आयोजनाका इञ्जिनियर किरण सुवेदीले जानकारी दिए।

पहिलो तहको कालोपत्र अन्तिम चरणमा पुगेको भए पनि दोस्रो तह, सौन्दर्यीकरण, र सडक मार्किङको काम अझै बाँकी रहेको सुवेदीले बताए। वर्षाका कारण काम थप प्रभावित भएको बताउँदै उनले “आउँदो आर्थिक वर्षभित्रमा कार्य सम्पन्न हुने” दाबी गरे।

ठेक्का म्याद दुईपटक थप, अझै अधुरो?

दुई वर्षमै सकिने सम्झौता भए पनि काममा ढिलाइ भएपछि दुईपटकसम्म ठेक्का म्याद थपिएको छ। आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिए पनि कम्पनीको “प्रतिबद्धता” अनुसार समय थपिदिँदै आएको हो।

स्थानीय बासिन्दाहरूले पटक–पटक सरकारी निकाय र निर्माण कम्पनीलाई ध्यानाकर्षण गराएका छन्। अघिल्लो वर्ष असार १५ मा स्थानीयहरूले सडकमै रोपाइँ गरेर दबाबमूलक कार्यक्रम समेत गरेका थिए।

चार लेनको सडक दुवैतर्फ बने पनि बीचको खण्ड जीर्ण भएकाले पोखरा प्रवेश गर्ने मुख्य सडक असहज र जोखिमपूर्ण भएको छ। सवारी जाम र दुर्घटनाको सम्भावना बढिरहेको स्थानीय र यातायात व्यवसायीको गुनासो छ।

यो एउटा मात्रा उदाहरण होइन देशभर ठूला आयोजनाहरूमा ठेक्का समयमै नपुगेको, लापरवाही, र निगरानीको कमी बारम्बार देखिँदै आएको छ।

Exit mobile version