२० नेपाली क्रिकेटर भारतको एनसिएमा प्रशिक्षणमा, विश्वकप छनोट अघि तयारी तीव्ररूपमा हुँदै ।
काठमाडौं, साउन ३ – आगामी विश्वकप छनोट प्रतियोगितालाई लक्षित गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले २० जना नेपाली क्रिकेटरलाई भारतको नेशनल क्रिकेट एकेडेमी (एनसिए) मा विशेष प्रशिक्षणका लागि पठाउने भएको छ। भारतीय दूतावास र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को सहकार्यमा टोली बैंगलुरु जाने तयारीमा रहेको छ।
नेपालका यी क्रिकेटरहरू जुलाई २१ देखि अगस्ट ३ सम्म भारतमा प्रशिक्षण लिनेछन्। त्यसपछि, नेपाली टोली अष्ट्रेलिया भ्रमणमा निस्किने तालिका रहेको छ, जहाँ नेपालले वेस्ट इण्डिजसँग ३ टि–२० खेलको सिरिज खेल्नेछ।
२० जना खेलाडीहरु :
कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, रोहित पौडेल, अनिल शाह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेश सिंह, विवेक यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकर रहेको छन्।
यी २० खेलाडी ३२ सदस्यीय प्रारम्भिक टोलीबाट छनोट गरिएको हो। बाँकी १२ खेलाडी भने नेपालमै प्रशिक्षणमा रहनेछन्। क्यानका अनुसार टोलीको प्रशिक्षणको उद्देश्य टोलीलाई आगामी महत्वपूर्ण प्रतिस्पर्धाहरूका लागि उच्चस्तरीय तयारी गराउनु हो।
नेपालले अक्टोबरमा ओमानमा हुने टि–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा सहभागिता जनाउनेछ। उक्त छनोटमा ९ राष्ट्र सहभागी हुनेछन्, जसलाई ३ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष २ टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्स चरणको शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टि–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछ।
नेपालको समूहमा कुवेत र जापान रहेका छन्। नेपालले यो प्रतियोगिता मार्फत लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ।
यो प्रशिक्षण र अष्ट्रेलिया भ्रमणले नेपाली क्रिकेट टोलीको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ। अनुभव, फिटनेस, र रणनीतिमा सुधार गर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई अझ सशक्त बनाउने प्रयास गरिरहेको छ।