
साउन १६, २०८२।
काठमाडौं, आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउन ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया प्रस्थान गर्न लागेको छ। उक्त टोलीमा ६ खेलाडी र २ प्रशिक्षक रहेका छन्।
प्रतियोगिता अगस्ट ९ देखि १० तारिखसम्म थाइल्यान्डको पटायामा आयोजना हुँदैछ। नेपाली टोली अगस्ट ८ मा प्रस्थान गर्नेछ। यसपटक पुरुष र महिला तर्फका विभिन्न तौलसमूहमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
सहभागी खेलाडीको विवरण
पुरुषतर्फः २५–२८ केजी: आर्यन अम्गाईं
३५–३८ केजी: आर्यन तामाङ
महिलातर्फः २३ केजी: आरुसी अम्गाईं
४२–४४ केजी: रोनशा थापा
पुम्से: योजना गौली, छ्लोइ: डोल्मा तामाङ
प्रशिक्षक टोली: गौरव रजक,दिनेश न्यौपाने।
टोलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक विशेष समारोहमा बिदाइ गरे। उक्त कार्यक्रम ‘परिवर्तन अभियान नेपाल’को दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो। मन्त्री पौडेलले प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्दै युवा खेलाडीहरूको आत्मविश्वास र मेहनतले अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउने विश्वास व्यक्त गरे।
हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता एसियाली क्षेत्रमा चर्चित प्रतियोगिता मानिन्छ। यस प्रतियोगितामा विभिन्न देशका किशोर/किशोरी खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउँछन्।
तेक्वान्दो महासंघका अधिकारीहरूका अनुसार यस प्रतियोगिताबाट युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव बटुल्न तथा भविष्यमा ठूलो प्रतियोगिताका लागि तयारी गर्न सहयोग पुग्नेछ। प्रशिक्षक गौरव रजकले भने, “खेलाडीहरू उत्कृष्ट तयारीमा छन्। अनुभवभन्दा पनि प्रदर्शनमा केन्द्रित भएका छौं।
नेपाली तेक्वान्दो टोलीको यो सहभागिता नेपाली खेलकुदको अन्तर्राष्ट्रिय यात्रामा थप उत्साहजनक संकेत हो। प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।