KATHMANDU DAINIK

स्वास्थ्य बीमाको भुक्तानी भदौमा हुने मन्त्री पौडेलको घोषणा

स्वास्थ्य बीमा नेपाल, Health Insurance Nepal, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, बीमा रकम भुक्तानी, प्राथमिक अस्पताल विस्तार, सरकारी अस्पताल सुधार, जटिल रोग सहुलियत, Health Insurance Payment Nepal, hospital service improvement.

काठमाडौं, साउन ६ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाकाे भुक्तानी भदौ महिनामा गरिने जानकारी दिएका छन्। बीमाको भुक्तानी दुई किस्तामा हुनेछ भन्ने उनले बताए।

नवलपरासीको हुप्सेकोट गाउँपालिका अन्तर्गत देउरालीमा निर्माण सम्पन्न ५ शय्याको प्राथमिक अस्पतालको उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार पछिल्लो समय सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको छ, जसले गर्दा सरकारी स्वास्थ्य संस्थामा उपचार गराउने नागरिकको आकर्षण समेत बढेको छ। तर, सीमित स्रोतसाधनका कारण सबै अस्पतालले बिरामीको चाप थेग्न सक्ने अवस्था नरहेको उनले स्पष्ट पारे।

सरकारले अब सबै पालिकामा सेवा-सुविधायुक्त प्राथमिक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको मन्त्री पौडेलले बताए। यसै सन्दर्भमा उनले साउन १ गतेदेखि देशभरका ४८ वटा अस्पतालले नयाँ भवनबाट सेवा दिन सुरु गरेको जानकारी दिए।

ती अस्पतालहरू स्थानीय सरकारको नेतृत्वमा सञ्चालन हुनेछन् भने केन्द्र र प्रदेश सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराउने उनले उल्लेख गरे।

मन्त्री पौडेलले नागरिकले जटिल रोगहरूको उपचारमा थप सहुलियत पाउने जानकारी दिए। उनका अनुसार सरकारले विशेष रोगहरूमा लाग्ने खर्चलाई मध्यनजर गर्दै एकमुष्ट रकम छुट दिने योजना लागू गरेको छ। यसले सर्वसाधारण नागरिकलाई समयमै गुणस्तरीय उपचारमा पहुँच दिलाउने अपेक्षा गरिएको छ।

Exit mobile version