KATHMANDU DAINIK

साम्बासहित १० महिला फुटबल खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको नगद तथा छात्रवृत्तिसहित सम्मान

nepali mahila football

काठमाडौं, असार २८–नेपाली महिला फुटबलको गौरवशाली प्रतिनिधित्व गर्ने कप्तान सावित्रा भण्डारी (साम्बा) सहित १० जना महिला फुटबल खेलाडीहरूलाई ‘द इन्साइट भिजन सेकेन्डरी स्कुल’ र ‘राजधानी क्याम्पस’ले बुधबार विशेष कार्यक्रममार्फत नगद १० हजार रुपैयाँ र छात्रवृत्तिसहित सम्मान गरेका छन्।

धुम्बाराहीस्थित विद्यालय परिसरमा आयोजित सो सम्मान कार्यक्रममा नेपालको राष्ट्रिय टिमका प्रतिनिधि खेलाडीहरूलाई शिक्षा र आत्मविकासप्रति प्रेरित गर्ने उद्देश्यले १८ लाख रुपैयाँभन्दा बढीको छात्रवृत्तिको व्यवस्था गरिएको हो।

सम्मानित हुने खेलाडीहरू:

समारोहमा सम्मानित हुने खेलाडीहरू सावित्रा भण्डारी (कप्तान – साम्बा),अनिता बस्नेत,रेखा पौडेल,सविता रानामगर,पूजा राना,अनु लामा- पूर्व कप्तान हिराकुमारी भुजेल,सावित्री किसान,कुसुम खतिवडा र सुनकला राई रहेका छन् ।

प्रत्येक खेलाडीलाई नगद १०,००० रुपैयाँ र संस्थाबाट प्रदान हुने उच्च शिक्षाको लागि विशेष छात्रवृत्ति प्रदान गरिएको थियो।

कार्यक्रम आयोजकका अनुसार विद्यालय र क्याम्पसले यस्ता खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरेको हो। इन्साइट भिजन स्कुलका प्रतिनिधिहरूले भने हामी केवल शिक्षा मात्र होइन प्रतिभा र परिश्रमलाई पनि मूल्यांकन गर्छौं। हाम्रो दृष्टिकोण खेल, शिक्षा र अनुशासनलाई एकै सूत्रमा बाँधेर भविष्य निर्माण गर्नु हो।

कप्तान साम्बा भण्डारी हालै सम्पन्न एएफसी वुमेन्स एसियन कप छनोटमा नेपालको उत्कृष्ट प्रदर्शनको मुख्य आधार रहेकी थिइन्। कप्तानीको जिम्मेवारी सम्हाल्दै उनले टिमलाई प्रेरणा प्रदान गरिन जसको फलस्वरूप नेपाली महिला टिमले प्रतिस्पर्धात्मक प्रदर्शन देखाउन सक्यो।

उनले सम्मान ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, हामीजस्ता खेलाडीलाई सम्मान र छात्रवृत्तिले थप आत्मबल दिन्छ। यसले खेलसँगै शिक्षामा पनि लाग्ने ऊर्जा मिल्छ।

सामाजिक र शैक्षिक संस्थाबाट हुने यस्ता सम्मानले महिला खेलाडीप्रतिको सामाजिक दृष्टिकोणमा समेत सुधार ल्याउने देखिएको छ। खेलाडीहरूको मेहनतलाई शिक्षा संस्थाले मूल्यांकन गर्नु स्वयंमा सकारात्मक सन्देश हो।

महिला फुटबलको विकासका लागि यस्ता सम्मान कार्यक्रमहरूले निकै महत्व राख्छन्। ‘द इन्साइट भिजन सेकेन्डरी स्कुल’ र ‘राजधानी क्याम्पस’को यो पहलले खेलाडीहरूलाई मात्र होइन, सम्पूर्ण युवा पुस्तालाई प्रेरणा दिने निश्चित छ। शिक्षा र खेल दुवै क्षेत्रमा सक्षम बनाउने यस्ता गतिविधि र सहकार्यले नै नेपालको खेल संस्कृतिलाई अझ मजबुत बनाउन सक्दछ ।

 

Exit mobile version