साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल फेरि श्रीलंकासँग भिड्दै, लगातार दोस्रो जितको लक्ष्य रहेको छ ।
काठमाडौं, श्रावन १- बंगलादेशको बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा जारी साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज चौथो खेलमा श्रीलंकासँग दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको छ।
प्रतियोगिता डबल राउन्ड रोबिन लिग फर्म्याटमा भइरहेकाले सबै टोली एक–अर्कासँग दुईपटक भिड्नेछन्। मंगलबार भएको पहिलो भेटमा नेपालले श्रीलंकामाथि ७–० को शानदार जित निकालेको थियो। त्यसअघिका खेलमा नेपालले भुटानलाई ६–१ ले हराएको थियो भने आयोजक बंगलादेशसँग ३–२ ले पराजित भएको थियो।
आजको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुने तालिका रहेको छ। खेल बसुन्धरा किङ्स एरेनामा हुँदै आएपनि हालैको भारी वर्षाका कारण मैदान बिग्रिएपछि बाँकी सबै खेल बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा सारिएको हो।
श्रीलंकाको प्रदर्शन भने अपेक्षाकृत कमजोर देखिएको छ। उसले पहिलो खेलमा बंगलादेशसँग ९–१ र दोस्रो खेलमा भुटानसँग ५–० को हार बेहोरेको थियो।
हालसम्मको अंक तालिकामा आयोजक बंगलादेश ९ अंकसहित शीर्ष स्थानमा छ। नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने भुटान ३ अंकसहित तेस्रो स्थानमा छ। श्रीलंका भने अंकविहीन अवस्थामा पुछारमा छ।
प्रतियोगितामा सहभागी चार टोलीबीच डबल राउन्ड रोबिन फर्म्याटमा खेल भइरहेका छन्। अन्तिममा सबैभन्दा बढी अंक जोड्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।
नेपालले यदि आजको खेलमा फेरि श्रीलंकामाथि जित निकाल्न सके, फाइनल प्रवेशको सम्भावना बलियो हुने छ। नेपालको खेल प्रदर्शनले समग्ररुपमा टुर्नामेन्टमा सशक्त उपस्थितिको संकेत दिएको छ।