साउन १४, २०८२।
काठमाडौं, विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता आजदेखी काठमाडौंमा सुरु भएको छ। अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा सुरु भएको यो प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा दुई दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स गरी पाँच राष्ट्रका ३४ खेलाडी सहभागी छन्। भुटान र पाकिस्तानले प्रतियोगिता गुमाएका छन्।
आयोजक संघका महासचिव तथा प्रतियोगिता निर्देशक कुवेरप्रकाश सिंहका अनुसार भारतबाट १० खेलाडी सहभागी छन् भने अन्य चार देशबाट समान ८–८ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। नेपालबाट ४ पुरुष र ४ महिला गरी ८ खेलाडीले सहभागिता जनाएका छन्।
नेपाली टोलि पुरुषतर्फ: संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार, गनन्जय दाहाल
महिलातर्फ: वियंका राई, इभाना थापा, नविता श्रेष्ठ, योङगी पौडेल रहेको टोलीको मुख्य प्रशिक्षकमा मोहनदास बासुकला छन् भने प्रशिक्षकको भूमिकामा सन्जिवकुमार ढुंगोल र सन्ध्या शाक्य रहेका छन्।
प्रतियोगिता राउन्ड रोविन लिग आधारमा भइरहेको छ। पुरुष र महिलातर्फको विजेता टोलीले सन् २०२६ को सेप्टेम्बरमा इङ्गल्यान्डमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुनेछन्।
तर यदि भारत विजेता बनेर अक्टोबर ११–१५ मा उडिसामा हुने एसियन टिम च्याम्पियनसिपमा शीर्ष १२ मा पुग्न सफल भएमा, दक्षिण एसियाली छनोटमा दोस्रो हुने टोलीले समेत विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालका अनुसार यो नेपाली टेबलटेनिसको एक महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता हो जसले खेलको स्तर उकास्न योगदान पुर्याउने छ।
काठमाडौंमा हुने यो ऐतिहासिक छनोट प्रतियोगिता नेपाली टेबलटेनिसका लागि मात्र होइन, सम्पूर्ण दक्षिण एसियाका खेलाडीका लागि पनि अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत हुने उत्कृष्ट अवसर बनेको छ। नेपालले घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ।