KATHMANDU DAINIK

रास्वपा संसद डिपी अर्याल भिजिट भिसा विवाद के हो?

‘सुमिरे ट्राभल्स र सांसद डिपी अर्याल विवादको यथार्थ कथा

असार १९, २०८२।  काठमाडौं दैनिक,संवाददाता

काठमाडौं – पछिल्लो एक दशकदेखि नेपाली नागरिकहरूलाई जापान पठाउने नाममा सुमिरे ट्राभल्सले संचालन गरेको ‘भिजिट भिसा व्यवसाय’ अहिले प्रहरीको निगरानीमा परेको छ। संसददेखि सामाजिक सञ्जालसम्म हलचल ल्याएको यो प्रकरणमा अब सांसदसम्मको संलग्नता उजागर हुन थालेको छ।
सांसद रामहरि खतिवडाद्वारा संसदमा उठाइएको गम्भीर आरोपले यो विषय सतहमा ल्याएको हो। उनले सिधै सुमिरे ट्राभल्स र त्यसका सञ्चालक सांसद डोलप्रसाद (डिपी) अर्यालमाथि ‘मानव तस्करी र भिसा दुरुपयोग’ को आरोप लगाएका छन्। यस्तै विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत उजुरी दर्ता भइसकेको पुष्टि भएको छ।

सुमिरे टुर एण्ड ट्राभल्स नामक कम्पनीले भिजिट भिसाको नाममा हजारौँ नेपालीहरूलाई जापान पठाएको दाबी गरिएको छ। तीमध्ये धेरै नेपालीहरू जापानमा अलपत्र छन् भन्ने सामाजिक रिपोर्टहरू यदाकदा देखिँदै आएका थिए। अहिले यो विषय मानव बेचबिखन ब्युरोको सक्रियता पछि नयाँ मोडमा पुगेको छ।

सांसद खतिवडाको दाबी अनुसार सुमिरे ट्राभल्सले विगत १० वर्षमा अर्बौं रुपैयाँ उठाएको छ। यो विषयमा उनले संसदको ध्यानाकर्षण गराउँदै निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग समेत गरेका थिए ।

विवादमा तानिएका सांसद डिपी अर्यालले संसदमा आफ्ना भनाइ राख्दै सुमिरे ट्राभल्स आफ्नै कम्पनी भएको स्वीकार गरेका छन्। तर उनले आफूलाई लागेको आरोपलाई निराधार बताउँदै ‘गर्वका साथ भन्न चाहन्छु म चोरी गरेर खाने मान्छे होइन भनी स्पष्ट पारे।

अर्यालको भनाइ अनुसार उनी वैध रूपमा भिजिट भिसाको व्यवस्था गरिरहेका थिए र कुनै व्यक्तिबाट पैसा उठाएर फरार भएका छैनन्। उनले संसदको रेकर्डबाट आफूविरुद्धको अभिव्यक्ति हटाउन सभामुख समक्ष माग समेत गरेका छन्।

यो विषय राजनीतिभित्रको प्रतिस्पर्धा र आरोप-प्रत्यारोपसँग पनि जोडिएको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र नेतृत्वको बहस चलिरहेका बेला सांसद डिपी अर्यालमाथि सार्वजनिक रूपमा यस्तो आरोप आउनु पार्टीको भित्री खिचातानीसँग पनि जोडिएको संकेत दिन्छ।

एकातिर संसदमा सांसद खतिवडाले उठाएको विषयलाई ‘राजनीतिक बदनियत’ भनी खारेज गर्न खोजिएको छ भने अर्कातर्फ सामाजिक रूपमा उठिरहेको आवाज भने मौन छैन। यति लामो समयसम्म कुनै ठोस उजुरी नपरेको प्रहरीको भनाइले प्रशासनको भूमिकामाथि पनि प्रश्न उठाएको छ।

नेपाल प्रहरीका उच्च स्रोतका अनुसार मानव बेचबिखन ब्युरो दुई दिनदेखि सुमिरे ट्राभल्सको विवरण संकलनमा सक्रिय छ। तर हालसम्म ठोस प्रमाण भेटिएको छैन।

प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले भने । “संसदमा के कुरा उठ्छ, त्यो हाम्रो ध्यान दिनेक्षेत्र होइन हामी उजुरीकै आधारमा काम गर्छौं।

उता सांसद खतिवडाले भने अनुसन्धानलाई ‘गोप्य बनाइएको’ भन्दै सरकारको इच्छाशक्ति माथि पनि प्रश्न उठाएका छन्।

सांसद डिपी अर्यालविरुद्ध नागरिक युवराज सफलद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा औपचारिक उजुरी दर्ता गरिएको पुष्टि भएको छ। उजुरीमा सांसदले स्वयं संसदको फ्लोरमा सुमिरे ट्राभल्सको सञ्चालक भएको स्वीकार गर्दै वर्षौँदेखि जापानमा नेपाली पठाएको बताएकाले यो आफैँमा प्रमाण हो भन्ने तर्क गरिएको छ।

उजुरीमा सांसदको गतिविधि भिजिट भिसाको आडमा ‘मानव तस्करीको शैली’ मा भइरहेको आशंका गरिएको छ।
अब यो उजुरीकै आधारमा प्रशासनले कस्तो अनुसन्धान गर्छ भन्ने प्रश्नको जवाफ आउँदो दिनले दिनेछ।

सामान्यत ‘भिजिट भिसा’ भ्रमणको लागि दिइने कानुनी व्यवस्था हो। तर त्यसको आडमा व्यवस्थित रूपमा मानव तस्करी वैदेशिक रोजगारीको गलत ढोका र आप्रवासन संकट जन्मिएको केसहरू नेपालमा नयाँ होइन। सुमिरे ट्राभल्स र सांसद अर्यालको केस अब प्रीसेडेन्ट सेट गर्ने सम्भावना बोकेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी जसले नैतिकता र जवाफदेहिता वकालत गर्दै आइरहेको छ, त्यही पार्टीका कार्यवाहक सभापति आफैँ यस्तो विवादमा मुछिनु पार्टीकै नैतिक धरातलमाथिको चुनौती बन्न सक्छ।

सुमिरे ट्राभल्सका नाममा भिजिट भिसा कारोबार र सांसदको भूमिकामाथि सार्वजनिक चासो व्यापक बनेको छ।
प्रहरी अनुसन्धान, संसदको बहस, प्रधानमन्त्री कार्यालयमा पुगेको उजुरी यी सबै घटनाक्रमले यो विषयलाई अब गम्भीर राष्ट्रिय बहसमा तानिएको छ।

Exit mobile version