काठमाडौं – राजनीतिक उतारचढाव र वक्तृत्वका लागि चर्चित नेतृ रामकुमारी झाँक्री पुनः नेकपा (एमाले) मा फर्किएकी छन्। चार वर्षअघि माधवकुमार नेपालको साथ लिएर एमाले फुटाएकी झाँक्री सोमबार राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीमा पुनः प्रवेश गरेकी हुन्।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनलाई स्वागत गरेका थिए। कार्यक्रममा एमाले कार्यकर्ताहरूले नाराबाजी र ताली बजाएर झाँक्रीलाई भव्य स्वागत गरे।
झाँक्रीले कार्यक्रममा भनिन्, राजनीतिमा स्थिरता र सिद्धान्त दुवै चाहिन्छ। मैले आलोचना पनि गरेँ, गल्ती पनि गरेँ, तर अन्ततः सत्य र संगठनतिर फर्किएँ।
झाँक्रीले एमाले छोड्दा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि कठोर टिप्पणी गरेकी थिइन्। अहिले पुनः एमाले फर्किएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ । केहीले उनलाई “व्यावहारिक नेता” भनेका छन् भने केहीले “स्वार्थी” र अवसरवादी भनेर आलोचना समेत गरेका छन्।
रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।
प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।
जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।
असई रागनी यादव
यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।
लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।