KATHMANDU DAINIK

युकेमा नेपाली उमा कुङफु खेलाडी सरिनालाई सम्मान

युकेमा सरिना घले युकेमा नेपाली उमा कुङफु खेलाडी सरिनालाई सम्मान, विश्व च्याम्पियनसिपमा तयारी

युकेमा नेपाली उमा कुङफु खेलाडी सरिनालाई सम्मान, विश्व च्याम्पियनसिपमा तयारी गर्दै छिन् ।

काठमाडौं, साउन ४ –अन्तर्राष्ट्रिय खेल मैदानमा नेपाललाई गर्व गराएकी उमा कुङफु खेलाडी सरिना घले यतिबेला बेलायतमा सम्मानित भएकी छन्। धादिङ–नुवाकोट समाज युकेको आयोजनामा लन्डनमा सम्पन्न ‘एनुएल समर गेट टुगेदर’ कार्यक्रममा सरिनालाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो।

सरिनाले हालै सम्पन्न दुई प्रतिष्ठित प्रतियोगितामा डब्लुएमएसी (WMAC) ब्रिटिश ओपन च्याम्पियनसिप र इङलिस च्याम्पियनसिप मा स्वर्ण पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र धादिङ–नुवाकोट समाज युकेका अध्यक्ष धनबहादुर तामाङ बाट उनलाई सम्मान प्रदान गरिएको थियो। नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका भने देशको गौरव बढाउने यस्तो सफलतापछि सरिना जस्ता खेलाडीहरूलाई प्रवासमा पनि प्रोत्साहन गर्नु आवश्यक छ।

नुवाकोट जिल्ला अन्तर्गत पर्ने किस्पाङ गाउँपालिका–१ की सरिना हाल बेलायतमै मास्टर्स अध्ययन गरिरहेकी छिन्। उनी तेस्रो डान (Dan) को स्तरकी खेलाडी हुन्।

अध्यक्ष राईका अनुसार, सरिना आगामी सेप्टेम्बर १८ देखि २१ सम्म हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिप को तयारीमा जुटेकी छन्। यही प्रतियोगिता उनको करियरमा अर्को ठूलो अवसर बन्ने विश्वास गरिएको छ।

यसअघि पनि उनलाई तमु धि समाज युके र मगर एसोसिएसन युके द्वारा सम्मान गरिसकिएको छ, जसले नेपाली समुदायमा सरिनाको योगदानलाई अझै मूल्यांकन गरेको संकेत दिन्छ।

सानैदेखि मार्सल आर्ट्समा रुचि राख्ने सरिना घलेले नेपाली भूमिबाट आफ्नो खेल जीवन सुरु गरेकी हुन्। उनले विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सफल भएकी हुन्। बेलायत पुगेपछि पनि उनले आफ्नो अभ्यास, अनुशासन र प्रतिबद्धता छाडेकी छैनन्।

सरिना घलेको सफलताको कथा केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन, यो समस्त नेपाली महिला खेलाडीहरूका लागि एक प्रेरणाको स्रोत हो। बेलायतमा बसोबास गर्दै, शिक्षा र खेललाई सँगसँगै अघि बढाउँदै उनले देखाएको लगनशीलता उल्लेखनीय छ।

Exit mobile version