KATHMANDU DAINIK

मुख्यमन्त्री लामाको कडा निर्णय : चार मन्त्री पदमुक्त

काठमाडौं, साउन १० – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शुक्रबार नेपाली कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीलाई पदमुक्त गरेका छन्। साथसाथै सोही दिन चारै जना मन्त्रीसहित २१ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गरेका छन्।

मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गरेका हुन्।

मुख्यमन्त्रीको कार्यालयले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई संविधानको धारा १६९(२)(ख) अनुसार पत्राचार गरी उनीहरूलाई पदमुक्त गरिएको जानकारी दिएको हो। चारै जना मन्त्रीले शुक्रबार ‘व्हाट्सएप’ मार्फत मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए।

राजीनामा बुझाएलगत्तै नेपाली कांग्रेस संसदीय दलका तर्फबाट मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावमा २१ जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको बताइएको छ।

यो घटनाले बागमती प्रदेशको राजनीतिक समीकरण फेरिन सक्ने अनुमान गरिँदैछ। कांग्रेसले सरकारमा रहँदा पनि लामालाई साथ दिँदै आएको थियो तर पछिल्लो समय मतभेद चुलिँदै गएको देखिएको छ।

यस निर्णयलाई लिएर राजनीतिक वृत्तमा तीव्र चर्चाको विषय बनेको छ। राजनीतिक विश्लेषकहरूले यसलाई प्रदेशको सत्ता सन्तुलनमा ठूलो मोडको संकेतका रूपमा लिएका छन्।

Exit mobile version