KATHMANDU DAINIK

महावीर पुनको आत्मकथाबाट आविष्कार केन्द्रलाई १२ करोड सहयोग

महावीर पुन, राष्ट्रिय आविष्कार केन्द्र, पुस्तक बिक्री, झापा समाचार, महावीर पुन आत्मकथा, Nepal Invention Center, Mahabir Pun book, Nepali scientist, Viratnagar, Innovation in Nepal

विर्तामोड, साउन ६ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ को बिक्रीबाट संकलित १२ करोड रुपैयाँ केन्द्रलाई सहयोग स्वरूप हस्तान्तरण गरेका छन्।

पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका डा. पुनले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्। उनका अनुसार, दुई लाख १८ हजार प्रति बिक्री भइसकेको यो पुस्तकको मूल्य प्रतिकपि ७५० रुपैयाँ रहेको छ। संकलित रकम वीरगञ्जमा सञ्चालन भइरहेको आविष्कार केन्द्रको औजार कारखाना तथा अन्य नवप्रवर्तनात्मक परियोजनाहरूमा खर्च गरिनेछ।

विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरेर केन्द्रको सहयोगमा योगदान पुर्‍याएको छ। उपप्रमुख पवित्रा महतरा प्रसाईंले डा. पुनको अभियान राष्ट्रका लागि प्रेरणादायी भएको बताए।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले पुनको वैज्ञानिक सोच, देशप्रेम र समर्पणको खुलेर प्रशंसा गर्दै पुस्तक किनेर योगदान गर्न सबैलाई आग्रह गरे।

झापाको विर्तामोड, दमक, बुद्धशान्ति, बाह्रदशीजस्ता स्थानमा स्थानीय सामाजिक संस्था, विद्यालय र युवाहरूको पहलमा पुस्तक किन्ने अभियान सञ्चालन भइरहेको छ। अभियानले सकारात्मक उत्साह सिर्जना गरेको छ।

कार्यक्रमका क्रममा डा. पुनले युवाहरूलाई सामाजिक सञ्जालमा नेताहरूलाई गाली गर्नुको सट्टा सकारात्मक योगदान गर्न आह्वान गरे। “देशको परिवर्तन सामाजिक सञ्जालबाट होइन, योगदानबाट हुन्छ,” उनले भने हामी सबैले आ-आफ्नो ठाउँबाट केही योगदान दिनुपर्छ।

डा. पुनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रमा अहिले १५ प्रकारका कृषि उपकरण उत्पादन भइरहेका छन्। ती उपकरण साना किसानहरूका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा केन्द्रलाई आत्मनिर्भर बनाउने योजनाको जानकारी पनि दिए।

 

Exit mobile version