
महानायक राजेश हमाल ‘कर्णाली यशविस’ का ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
काठमाडौं, साउन ३ – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का साविक विजेता कर्णाली यशविसले महानायक राजेश हमाललाई आफ्नो सद्भावना ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। शनिवार सार्वजनिक गरिएको जानकारी अनुसार, हमाल अब टोलीको आधिकारिक अनुहारका रूपमा कर्णाली यशविससँग आबद्ध भएका छन्।
कर्णाली यशविसले सामाजिक सञ्जालमार्फत हमालको भूमिकाबारे जानकारी दिँदै लेखेको छ,
‘उत्कृष्टता, सौन्दर्य र समर्पणका प्रतीक, राजेश हमालको उपस्थितिले अब केवल सिल्भर स्क्रिन मात्र होइन, हाम्रो टोलीको आत्मालाई समेत प्रेरित गर्छ। महानायक स्वयं हाम्रो साथमा उभिनु भएपछि कर्णालीको ऊर्जा अझ सशक्त बनिरहेको छ।
शुक्रवार सम्पन्न भएको खेलाडी अक्सन कार्यक्रममा हमाल कर्णालीको टेबलमा सहभागी देखिए। यसअघि उनले नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडरको भूमिका निभाएका थिए। यसपटक भने उनले महिला भलिबललाई समर्थन जनाउँदै कर्णाली टोलीसँग हातेमालो गरेका छन्।
साविक विजेता कर्णालीले यस सिजन पनि मुख्य प्रशिक्षक कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ। यस्तै, अक्सनमार्फत टोलीमा समावेश गरिएका प्रमुख खेलाडीहरूमा सोफिया पुन, रश्मि दुरा, जोशना महतो, पूजा थारु, नेविका चौधरी, रेविका लामा तामाङ, र अलिशा भोजु रहेका छन्।
एभरेष्ट महिला भलिबल लिगको आगामी संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने तय भएको छ। नेपालका उत्कृष्ट महिला खेलाडीहरू प्रतिस्पर्धा गर्ने यो लिग नेपाली भलिबलको प्रतिष्ठित प्रतियोगिता बनिसकेको छ। यस लिगमा कर्णाली यशविस समेत प्रमुख दाबेदारको रूपमा प्रस्तुत हुँदै आएको छ।
नेपालको चलचित्र क्षेत्रका स्तम्भ मानिने हमाल विभिन्न सामाजिक अभियानहरूमा सक्रिय देखिन्छन्। अब भने उनले भलिबलजस्तो लोकप्रिय खेलमा समेत आफ्नो उपस्थितिलाई सद्भावनाका रूपमा प्रस्तुत गरेका छन्। यो कदमले महिला खेलकुदलाई अझ व्यापक जनसमर्थन दिलाउने अपेक्षा गरिएको छ।