“मरेको सिनो” विवादले (नेकपा एस) मा घमासान
असार १९, २०८२ । काठमाडौं दैनिक । संवाददाता
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) भित्रको राजनीतिक संघर्ष र आन्तरिक असहमतिको चुलिँदो स्थितिमा नेत्री रामकुमारी झाँक्रीको एउटा विवादास्पद अभिव्यक्तिले अहिले सिंगो पार्टीलाई नै हल्लाएको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लक्षित गर्दै “काँधमा मरेको सिनो बोकेर हिँड्न सकिन्न” भन्ने अभिव्यक्तिपछि झाँक्रीमाथि अनुशासन प्रक्रिया अघि बढाइएको छ भने अध्यक्ष नेपालमाथि पनि पार्टीको नेतृत्व सम्हाल्न उचित नैतिक आधार बाँकी नरहेको बहस चर्किएको छ।
रामकुमारी झाँक्रीले गत शनिबार लुम्बिनी प्रदेशमा आयोजित समाजवादी पार्टी निकट युवा संघको कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालको नाम नलिईकन सीधै ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन’ भन्ने अभिव्यक्ति दिइन्।
उनको तर्क थियो पार्टी अध्यक्षमाथि भ्रष्टाचार मुद्दा चलिरहेको अवस्थामा नेतृत्व फेर्न अर्ली महाधिवेशन जरुरी छ।
यो भनाइसँगै पार्टीभित्रको असन्तुष्टि सतहमा आएको थियो।
उनको भनाइ यस्तो थियो कानुनी र संवैधानिक दृष्टिले अध्यक्षमाथि गम्भीर समस्या आएको छ। अब काँधमा मरेको सिनो बोकेर हिँड्ने अवस्था छैन। नेतृत्व परिवर्तन जरुरी छ।
झाँक्रीको कडा अभिव्यक्तिपछि समाजवादी पार्टीको अनुशासन आयोगले उनलाई लिखित स्पष्टीकरण सोधेको छ। पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार बिहीबार बस्ने सचिवालय बैठकमा झाँक्रीको अभिव्यक्तिसहित अन्य आन्तरिक विवादबारे औपचारिक छलफल हुनेछ।
पाण्डेले भने उहाँको अभिव्यक्ति गम्भीर छ। किन त्यस्तो भाषा प्रयोग गरियो भन्नेबारे आयोगले स्पष्टीकरण मागेको छ। जवाफ आएपछि आवश्यक निर्णय लिइनेछ।
रामकुमारी झाँक्री अनेरास्ववियु (समाजवादी विद्यार्थी संगठन) की इन्चार्ज समेत हुन्। सोही संगठनभित्र हालै नरेश न्यौपानेको नेतृत्वमा समानान्तर कमिटी गठन भएपछि झाँक्री पक्षीय र अध्यक्ष नेपाल पक्षबीचको मतभेद झनै सतहमा आएको हो।
अध्यक्ष महेश श्रेष्ठ नेपाल निकट मानिन्छन् भने न्यौपाने झलनाथ खनाल र महासचिव घनश्याम भुसालको गुटका हुन्।
झाँक्री पक्षले नयाँ नेतृत्वको माग गर्दा श्रेष्ठ समूहले विद्यमान संरचना कायम राख्नुपर्ने अडान लिएको छ। यो विवाद विद्यार्थी संगठनसम्म सीमित नरही पार्टीको शीर्ष नेतृत्व तहमै प्रभाव पार्ने संकेत देखिएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने अध्यक्ष नेपालको संसद पद निलम्बन भइसकेको र उहाँ स्वत संसदीय दलको नेता पदबाट हटिसकेको स्पष्ट पारे। अब पार्टीको वरिष्ठ उपाध्यक्ष र दलको उपनेता (अर्थात् म) संसदीय दलको नेतृत्व सम्हाल्ने अवस्था देखिएको छ पाण्डेले भने।
माधव नेपालले विगतमा २०६४ सालमा निर्वाचन हारेपछि महासचिवबाट राजीनामा दिएको स्मरण गर्दै उनले भने त्यो बेलाको जस्तो विवेक अहिले पनि देखाउनुपर्ने अवस्था आएको हो। तर उनले आफू वरिष्ठ उपाध्यक्ष भएको नाताले नेतृत्व परिवर्तनको विषयमा खुला टिप्पणी नगर्ने बताए।
अनुशासन आयोगको कारबाही प्रक्रिया थालिएसँगै झाँक्रीमाथि पार्टीले कडा निर्णय लिन सक्ने संकेत देखिएको छ।
एउटा राजनीतिक कार्यकर्ताको भाषा र प्रस्तुति जिम्मेवार हुनुपर्छ। यस्तो शब्द चयनले पार्टीको प्रतिष्ठा असर गर्छ पाण्डेले चेतावनी दिँदै भने।
पार्टीभित्र अन्य नेताहरूले समेत झाँक्रीको अभिव्यक्तिको आलोचना गरेका छन्। कतिपयले उनको बोल्ने शैलीलाई पार्टी संस्कारको अपमान भनेका छन्।
यसैबीच झाँक्रीको तर्फबाट सार्वजनिक प्रतिक्रिया भने आइसकेको छैन। तर पार्टीभित्र निकट नेताहरूले उनी अनुशासनको प्रक्रियामा सहभागी हुने र आफूले उठाएका प्रश्नको जवाफ संगठनबाटै खोज्ने मनस्थिति बनाएकी बताइरहेका छन्।
यो विवादले एकीकृत समाजवादीमा गहिरिएको असन्तुलन सतहमा ल्याइदिएको छ। मूल विषय भनेको माधव नेपालमाथि दायर भएको भ्रष्टाचार मुद्दा हो जसलाई लिएर पार्टीभित्र नेतृत्वको नैतिकता, पारदर्शिता र वैधानिकतामाथि बहस सुरु भएको छ।
झाँक्रीको अभिव्यक्तिले विवादको स्वरूप बदलिएको छ। बोल्ने शब्दको मर्यादा र नेतृत्वको नैतिक मूल्यबारे बहस छुट्टाछुट्टै लहरमा अघि बढिरहेका छन्।
एकातिर, नेतृत्वप्रति असन्तुष्टि बोकेका युवा नेताहरू परिवर्तनको माग गर्दै छन् भने अर्कोतिर संस्थागत अनुशासन र एकता जोगाउने नाममा पुराना संरचनाले विद्रोही स्वरलाई दबाउने प्रयास गरिरहेको देखिन्छ।
पार्टीभित्र गुटगत राजनीतिले अब नेतृत्व परिवर्तनको माग र अनुशासनको चाङमा ठोक्किने संकेत प्रष्ट देखिएको छ।
यो टकराव समाधान भएन भने समाजवादी पार्टीले आगामी दिनमा अझ गहिरो संकटको सामना गर्नुपर्ने निश्चित देखिन्छ।
‘मरेको सिनो’ शब्दले एक जना नेतामाथि कारबाहीको ढोका खोलिदिएको छ भने अर्को नेताको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्नचिन्ह उठाएको छ।
यो घटनाबाट पार्टीभित्रको सतहभित्र लुकेको द्वन्द्वको विस्फोट भएको छ । अब हेर्न बाँकी छ, के पार्टीले झाँक्रीलाई कारबाही गर्छ? कि झाक्रीले उठाएका विषयमाथि गम्भीर समीक्षा गरेर समाजवादी अगाडि बढछ ?