असार २५, २०८२ एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक विश्व कूटनीतिमा केन्द्रबिन्दु बनेका छन्।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गरेपछि यो विषयले विश्व राजनीतिकलाई तताएको छ।
सोमबार ट्रम्प र नेतन्याहुबीच सेतो घरको ब्लु रूममा भएको रात्रिभोजमा नेतन्याहुले ट्रम्पलाई एउटा पत्र हस्तान्तरण गरे जसमा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको थियो। नेतन्याहुले ट्रम्पको “शान्तिको प्रयास” को खुलेर प्रशंसा गर्दै भने उहाँ अहिलेसम्मका सबैभन्दा प्रभावकारी शान्ति दुतमध्ये एक हुनुहुन्छ।
यस भेटको प्रमुख एजेन्डा भनेको गाजाको युद्ध अन्त्य गर्न नयाँ सम्झौतामा पुग्ने प्रयास थियो। २१ महिनादेखि जारी इजरायल-हमास द्वन्द्व अन्त्य गर्न ट्रम्प नेतृत्वको टोली सक्रिय छ। हाल कतारमा इजरायल र हमासका वार्ताकारहरू बीच ६० दिने युद्धविरामको प्रस्तावबारे छलफल भइरहेको छ। यस प्रस्तावमा चरणबद्ध बन्धक मुक्त गर्ने, मानवीय सहायता गाजामा पुर्याउने जस्ता बुँदाहरू छन्।
ट्रम्पले भने म युद्ध रोक्दैछु, म शान्ति चाहन्छु। मानिसहरूको मृत्यु म हेर्न सक्दिन। नेतन्याहुसँगको सुमधुर सम्बन्धका बाबजुद ट्रम्पले युद्ध स्थायी रूपमा अन्त्य होस् भन्ने कुरामा अहिले प्रधानमन्त्रीमाथि स्पष्ट दबाब बनाइरहेका छन्
नेतन्याहुले ट्रम्पलाई सिफारिस गर्दै भने तपाईंले एकपछि अर्को मुलुकमा शान्ति स्थापना गर्दै जानु भएको छ। त्यसैले मैले नोबेल शान्ति पुरस्कार समितिमा पठाएको पत्र आज तपाईंलाई दिन चाहन्छु।
ट्रम्प यस अप्रत्याशित सम्मानबाट स्पष्ट रूपमा प्रभावित देखिए। यो मैले थाहा पाएको थिइनँ। तपाईंबाट यस्तो कुरा सुन्नु सम्मानको विषय हो उनले भने।
इरान र इजरायलबीचको १२ दिने युद्धपछिको कूटनीतिक लहरले यसपटकको गाजासम्बन्धी सम्झौतामा आशाको किरण देखिएको विश्लेषण गरिएको छ। इजरायलले इरानमाथि रणनीतिक रूपमा सफल बमबारी गरेपछि नेतन्याहुको राजनीतिक हैसियत बलियो भएको छ। यसले उनलाई सम्झौतामा लचिलो बन्न प्रेरित गरिरहेको छ।
ट्रम्पका पूर्वदूत माइकल ओरेनका अनुसार ट्रम्प नेतन्याहुलाई दवाव दिन सक्छन्, तर लोभ्याउने उपाय पनि अपनाउनेछन् जस्तै इरान विरुद्ध सैनिक विकल्प खुला राख्ने प्रतिज्ञा।
ट्रम्पको प्रमुख दीर्घकालीन लक्ष्य भनेको साउदी अरबलाई अब्राहम सम्झौतामा ल्याउनु हो। जसले इजरायल र अरब राष्ट्रबीच सम्बन्ध सामान्यीकरण गर्नेछ। तर साउदी नेतृत्वले गाजाको युद्ध जारी रहँदासम्म यो सम्भव नहुने स्पष्ट पारेको छ।
नेतन्याहुले भने ट्रम्पको नेतृत्वमा हामी सम्पूर्ण मध्यपूर्वमा स्थायी शान्तिको दिशा तय गर्न सक्छौं।
गाजा युद्धपछिको शासन व्यवस्था कस्तो हुने भन्नेबारे अझै अस्पष्टता छ। इजरायल हमासलाई फेरि सत्तामा देख्न चाहँदैन भने ट्रम्पले गाजालाई “मध्यपूर्वको रिभिएरा” बनाउने योजनाको संकेत दिएका छन् जहाँबाट स्थानीय जनसंख्या विस्थापित हुने कुरा पनि आएको छ। नेतन्याहुले भने जो बस्न चाहन्छ बस्न सक्छ। तर जो जान चाहन्छ तिनीहरूले जान पाउनुपर्छ।
यो भेटघाट र नोबेल शान्ति पुरस्कार सिफारिस ट्रम्पको राजनीतिक पुनरागमन र मध्यपूर्वको शक्ति सन्तुलन पुन लेख्ने कूटनीतिक प्रयास पनि हो। शान्तिको मार्गमा ट्रम्प र नेतन्याहु सँगै अघि बढ्ने प्रयास गरिरहेका छन्, तर वास्तविक शान्ति तबमात्र सम्भव हुनेछ जब युद्धका सबै पक्षहरू स्थायी युद्धविराममा सहमत हुनेछन् ।