KATHMANDU DAINIK

मधेसमै पहिलोपटक सरकारी अस्पतालबाट स्तन क्यान्सर र बाँझोपनको सेवा सुरु

 

वीरगन्ज, असार ३०- मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पतालमा पहिलोपटक सरकारीस्तरबाट स्तन क्यान्सरको जाँच (म्यामोग्राम) र बाँझोपनको उपचार (IUI सेवा) सुरु गरिएको छ। आइतबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औपचारिक रूपमा सेवा उद्घाटन गरेका हुन्।

वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार, यी सेवा सुरु भएसँगै अब वीरगन्ज र आसपासका बिरामीहरूलाई काठमाडौँ वा भारत जानुपर्ने बाध्यता हट्नेछ। उनका अनुसार नारायणी अस्पताल प्रदेशमै यस्तो सेवा दिने पहिलो सरकारी संस्था बनेको हो।

अस्पतालका मेसु डा. चुमनलाल दासले स्तन क्यान्सरको प्रारम्भिक जाँचका लागि म्यामोग्राम सेवा सुरु गरिएको र निसन्तान दम्पतीका लागि इन्ट्रा युटेराइन इन्सेमिनेसन (IUI) सेवा उपलब्ध गराइएको जानकारी दिए।

यसअघि नारायणी अस्पतालले पाठेघरको मुखको क्यान्सर परीक्षण, स्क्रिनिङ र केमोथेरापी सेवा पनि सुरु गरिसकेको छ। उनले भने, “नयाँ सेवाले धेरै महिलालाई समयमै क्यान्सर पत्ता लगाउने र निसन्तान दम्पतीका लागि आशाको केन्द्र बन्नेछ।

कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नारायणी अस्पताललाई “संघीय सरकार अन्तर्गतको एकमात्र अस्पताल” भन्दै यसलाई देशकै नमुना अस्पताल बनाउने लक्ष्य रहेको बताए। स्वास्थ्यकर्मीले इमानदार भएर काम गरे र सबैले सहयोग गरेमा एक वर्षभित्रमा नारायणी अस्पतालको पहिचान बदलिन्छ उनले जोड दिए।

मे.सु. डा. दासले ५०० शय्या क्षमताको अस्पताल भवन निर्माणका लागि सर्वोच्च अदालतबाट मुद्दा टुंगिएको र बजेट विनियोजन भइसकेकाले छिट्टै शिलान्यास गर्नुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराए। उनले क्याथ ल्याबको सेवा पनि साउनदेखि सुरु गर्ने लक्ष्य रहेको बताए। भवन निर्माण र उपकरण जडान तीव्र गतिमा भइरहेको छ भन्दै उनले जानकारी दिए।

नारायणी अस्पतालमा स्तन क्यान्सरको प्रारम्भिक जाँच र बाँझोपन उपचार सेवा सुरु हुनु मधेस प्रदेशका लागि महत्वपूर्ण उपलब्धि हो। स्वास्थ्य पहुँच र उपचार सुविधा क्षेत्रीय स्तरमै विस्तार हुनुले धेरै आमजनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा समेत गरिएको छ।

Exit mobile version