KATHMANDU DAINIK

प्रधानमन्त्री ओलीको भारत भ्रमण ३१ भदौदेखि, द्विपक्षीय सम्बन्ध सुधारको प्रयासमा

सरकारको १ वर्ष, सुशासन, भ्रष्टाचार, संविधान संशोधन, प्रधानमन्त्री ओली, गृहमन्त्री विवाद, सरकारको आलोचना, सत्ता साझेदारी, नेपाली राजनीति

काठमाडौँ, साउन ५- सत्तामा पुनः फर्किएपछि १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने पक्का भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली आगामी ३१ भदौमा दिल्ली जाने तय भएको हो।

हालसम्म भ्रमणको औपचारिक घोषणा भइनसकेको भए पनि प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अनुसार भ्रमणको मिति र ढाँचा दुवैमा सहमति भइसकेको छ।

परराष्ट्र प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार तयारीहरू अन्तिम चरणमा पुगेका छन्। उनका अनुसार भारतीय समकक्षीबाट निमन्त्रणा आएपछि तयारी तीव्र रूपमा भइरहेको छ। द्विपक्षीय एजेन्डा र अन्य विषयवस्तु अहिले खुलाउन मिल्दैन।

प्रधानमन्त्री ओलीले केही समयअघि पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा आफू चाँडै भारत जाने र मोदीले नोभेम्बरमा नेपाल भ्रमण गर्न सक्ने संकेत दिएका थिए। ओली सत्तामा फर्किएको १४ महिनासम्म दिल्ली भ्रमण असफल भइरहँदा हालको भ्रमणले दुई देशबीचको चिसिएको सम्बन्धमा नयाँ घाम लाग्ने अपेक्षा गरिएको छ।

नोभेम्बर २०१९ मा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरेपछि नेपालले प्रतिकारस्वरूप नयाँ नक्सा जारी गर्दै संविधानमै समावेश गरेको थियो। त्यसबेला ओली प्रधानमन्त्री थिए। त्यसयता ओली र दिल्लीबीचको सम्बन्ध तिक्त बन्दै गएको थियो।

गत वर्ष ओलीले चीन भ्रमणको क्रममा बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि दिल्लीको असन्तोष थप चुलिएको थियो। यद्यपि, प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध सुधार गर्ने कूटनीतिक प्रयासहरू भने निरन्तर गरिरहेकै थिए।

ओलीको भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ। सम्भावित विषयहरूमा सुपुर्दगी सन्धि, पारस्परिक कानुनी सहायता, सुरक्षा साझेदारी, र आर्थिक सहयोगजस्ता प्रमुख मुद्दाहरू छन्।

३१ भदौदेखि सुरू हुने दुईदिने भ्रमणमा केही सम्झौताहरूमा हस्ताक्षर हुने तयारी पनि भइरहेको छ। संयोगवश, ओलीको भ्रमणको दोस्रो दिन (१ असोज) मोदीको जन्मदिन समेत पर्ने भएकाले भ्रमणलाई ‘सकारात्मक कूटनीतिक क्षण’का रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको भ्रमणलाई सहज बनाउन गृह सचिवस्तरीय बैठक मंगलबारदेखि नयाँदिल्लीमा सुरू हुँदैछ। उक्त बैठकमा सुपुर्दगी सन्धि, कानुनी सहायता लगायतका विषयमा गम्भीर छलफल हुनेछ।

यो भ्रमण ओली सरकारको विदेश नीतिमा सन्तुलन खोज्ने प्रयास पनि मानिएको छ। पछिल्लो समय चीनसँग नजिकिएको ओली नेतृत्वले भारतसँग चिसिएको सम्बन्ध सुधार गर्न यो भ्रमणलाई गम्भीरतापूर्वक लिएको देखिन्छ।

स्रोतका अनुसार अघिल्लो पटकको नकारात्मक संकेतपछि पनि हामी भारतीय पक्षसँग संवादमा थियौं। अहिले भ्रमण निश्चित हुनु त्यसको परिणाम हो।

प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार, पुराना विवादका समाधान, र नयाँ साझेदारीको बाटो खोल्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। अबको ध्यान भने ओली–मोदी वार्ताबाट के–कस्ता व्यावहारिक उपलब्धिहरू निस्कन्छन् भन्नेमा हुनेछ।

Exit mobile version