काठमाडौं – नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (SP) को पदबाट सेवा निवृत्त भएका अवधेश विष्ट अहिले कफी व्यवसायमा जुटिरहेका छन् । जागीरको अनुशासन र सेवा भाव बोकेका विष्ट अहिले ‘कुकर कफी’ नामक आकर्षक कफी पसलमार्फत समाजसेवाको नयाँ अध्याय सुरु गरिरहेका छन् ।
सेवा निवृत्त भएपछि विष्टले जब कफी व्यवसाय सुरु गरे तब धेरैले उनलाई प्रश्न गरे, ल यस्तो ठूलो पदबाट रिटायर भएर पनि कफी पसल खोलेको? तर विष्टले आलोचनालाई वास्ता नगरी निरन्तर मेहनत गर्दै आफ्नो कर्ममार्फत निरन्तर जवाफ दिइरहे, अहिले त्यही आलोचकहरू नै उनको पसलमा आएर कफी बनाउने सीप सिक्न चाहन्छन् ।
विष्टले कफी पसल खोल्नुको पछाडि भावनात्मक कारण पनि छ । उनी भन्छन्, घर नजिकको मोडमा बुबाले मन्दिर र चौतारी बनाउनुभएको थियो जहाँ मानिसहरू बसेर गफगाफ गर्थे । मैले बुबाको त्यसै स्थानलाई अझ आकर्षक सार्वजनिक स्थल बनाउने सोचले कफी पसल सुरु गरेको हुँ ।
कुकर कफी अहिले ७ जना युवालाई स्थायी रोजगारी दिन सफल भएको छ । विष्टको सोच र उद्यमशीलताले समुदायमै अवसर सिर्जना गरेको छ । उनले समाजमा उदाहरणीय काम गर्दै पूर्वसरकारी कर्मचारीको जीवन पनि कस्तो सशक्त र प्रेरणादायी हुन सक्छ भन्ने प्रमाणित गरिदिएका छन् ।
रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।
प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।
जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।
असई रागनी यादव
यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।
लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।